दल

आगामी निर्वाचनमा माओवादी पहिलो कम्युनिष्ट पार्टी बन्‍छ : प्रचण्ड

इकागज |
भदौ ३०, २०७९ बिहीबार १०:४५ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको दाबी गरे । 

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको उनको भनाइ छ । उनले माओवादी नेता, कार्यकर्ताहरू जनताबीचमा नगएको र जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताए । उनले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दोहोर्‍याए ।


पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताए। स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने उनले बताए । माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका उनले व्यक्त गरे । 

‘माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ । मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ,' उनले भने, 'माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ । हामी माओवादी नेता, कार्यकर्ताहरु यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने, त्यहाँ कमी छन् भन्ने कुरा हामीले अनुभव गर्दै आएका छौँ ।’

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको बताए ।


Author

थप समाचार
x