दल

डोटीमा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु पर्दैन : प्रेम आले

इकागज |
असोज ३, २०७९ सोमबार १७:३४ बजे

काठमाडौँ- पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताए । उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने जिकिर गरे ।


नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली काँग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाइ छ । उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गरे ।

आलेले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको जिकिर गरे । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।


Author

थप समाचार
x