दल

विधानविपरीत उम्मेदवारको नाम पठाएको भन्दै कांग्रेस सर्लाहीद्वारा असन्तुष्टि

इकागज |
असोज ४, २०७९ मंगलबार १८:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि पोखेका छन् ।

मंगलबार काठमाडौँम पत्रकार सम्मेलन गर्दै जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उम्मेदवार सिफारिसमै विधानविपरीत गतिविधि भएको भन्दै निर्वाचनमा पार्टीले व्यहोर्ने क्षतिको जिम्मा नेतृत्व स्वयंले लिनुपर्ने उनीहरूको चेतावनी छ ।


पार्टीका महाधिवेशन प्रतिनिधि प्रमोद बरालले विधि र विधानलाई उल्लंघन गरेर जिल्ला कार्य समितिले केन्द्रमा उम्मेदवारको नाम पठाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।जिल्ला समितिले क्षेत्रीय समिति र प्रदेश समितिले प्रस्ताव गरेको नाम हटाएर आफन्त, जुनियरहरूलाई विपिको सिद्धान्त मिचेर सिफारिस गरेको उनको भनाइ छ ।

यसैगरी, अर्का महाधिवेशन प्रतिनिधि शिव गुर्माछानेले धेरै पार्टीमा खेमाको बारेमा विषय उठान हुँदै आएको भन्दै आफूहरू विशुद्ध एकता, आगामी चुनावमा पार्टीलाई जिताउने र सफल गराउनका लागि विधि र विधानअनुरूप गतिविधि हुनुपर्नेमा जोड दिएको बताए ।

सर्लाही कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले क्षेत्रबाट सिफारिस गरेर पठाएको डा. अमरेशकुमार सिंहको नाम काटेपछि त्यहाँ विवाद चुलिएको थियो ।


Author

थप समाचार
x