राष्ट्रपति अब संविधानको संरक्षक, पालक र देशबासीको अभिभावक रहनुभएन : त्रिपाठी
फाइल तस्बिर
काठमाडौं - जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिनु ‘दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरेका छन् । ‘सम्माननीय राष्ट्रपतिज्यू अब संविधानको संरक्षक, पालक र देशबासीको अभिभावक रहनु भएन’ त्रिपाठीको टिप्पणी छ, ‘नागरिकताको समस्यालाई राजनीतिकरण गर्ने अभियानमा सरिक हुनु दुर्भाग्यपूर्ण हो ।’
उनले चुनावका मुखमा कृत्रिम नाराका निम्ति यस्तो काम भएको बताए । ‘चुनावको मुखमा फेरि मुलुकलाई राष्ट्रघात–राष्ट्रवादको चक्रब्यूहमा पार्दै समाजलाई विभाजित गर्ने कोशिश गरिन्छ’ त्रिपाठीले इकागजसँग भने, ‘त्यसो गरिनुको पनि कारण छ । त्यो के कारण हो भने राजनीतिक दलहरुसँग मतदाता प्रभावित पार्ने आकर्षक योजना र नारा देखिँदैन । अनि आकर्षक एजेन्डा र नारा नभएको हुँदा कृत्रिम नारा बनाउने प्रयत्न हुन्छन् ।’
उनी अब यो विषयलाई कसले, कसरी राजनीतिकरण गर्छ भन्ने हेर्न बाँकी रहेको बताउँछन् । ‘यसले एकातिर पाँच–छ लाख युवा–युवतीलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित त गराउँछ नै’ उनले भने, यद्यपि ढिलो–चाँडो तिनले पाउलान् पनि । तर संवैधानिक सर्वाेच्चतामाथि उठेको प्रश्नले संविधानको दीर्घजीवनमाथि असर गर्नेछ ।’
अघिल्लो चुनावमा एमालेकै चुनावबाट सांसद बनेका त्रिपाठीले केही समयअघि नयाँ पार्टी दर्ता गराएका हुन् । उनी संसदीय सर्वाेच्चतामाथि प्रहार भएको ठान्छन् ।
‘जुन बेला संसदीय सर्वाेच्चतामाथि प्रहार हुन्छ, त्यसबेला संसदीय लोकतन्त्रमाथि नै घात भएको देखिन्छ’ उनले भने, ‘मैले भन्दै आएको छु, संसद् धाइआमाहरूको कब्जामा थियो । परिवर्तन एउटा शक्तिले गरायो, स्वामित्व अर्कैले लिएको थियो । अब स्वामित्व क्रमशः छाड्दैछन् र परिवर्तन लाभारिस बन्दैछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया