दल

उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- यो युवाले गरेको विद्रोह हो

इकागज |
असोज २३, २०७९ आइतबार १३:४ बजे

मोरङ- राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् ।  थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् । 


उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् : 

मेरो राजनीतिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसद्‌मा पुगेका दलका नेताहरूले मोरङबासीका लागि गरेको काम हेर्दा , समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, हामिले आवाज नउठाए कस्ले उठाउँछ ? देश बनाउन् कसम खाएका नेताहरूले देश त परै जावस् आफ्नो समाजको लागिसम्म पनि उत्तरदायी बन्न किन सकेनन ? किन हामी मोरङवासी सधैँ देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौँ त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमञ्‍चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अब नेपाली समाजको, मोरबासीको, आमाहरू अनि छोरीहरूका लागि विशेष योजनासहित विशेष काम गर्ने छु ।

यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक  जनतालाई झुट बोलेर संसद्‌ बन्ने प्रथाको अन्त्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरूसहित तपाईंको बीचमा आफूलाई उभ्याउने छु ।  यसपटक मोरङले राजनीतिक  उच्च चेतना  प्रर्दशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन् भनेर  गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहाँसमा मोरङले परिर्वतनका लागि विद्रोह गर्दैछ, त्यो चेतनशील विद्रोहमा सम्पुर्णआमा बुवा दाजुभाई दिदिबहिनीहरूले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।


Author

थप समाचार
x