मकवानपुर-१ : हारमा 'ह्याट्रिक' गरेकाहरू पुन: चुनावी मैदानमा
मकवानपुर - खेलमा हार र जित निश्चित हुन्छ । एउटाले नहारेसम्म अर्कोको जित्न सक्दैन । निर्वाचन पनि हार जितको खेल मानिन्छ । यहाँ एउटाले जित्न धेरैले हार व्यहोर्नुपर्छ ।
चुनावी मैदानमा जित्ने एउटै आधार जनताको मत हो । जनता मतले चुनाव जित्न उनीहरूको मन जित्नु पर्छ । तर पटक-पटक हारेकाहरू पनि फेरि मैदानमा आउँछन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मकवानपुरबाट उम्मेदवारी दिनेहरूमा एकाधबाहेक खासै नयाँ अनुहार देखिएका छैनन् । नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभामा नयाँ अनुहारलाई अवसर दिएको छ । अन्य दलहरूले भने पटक-पटक त्यही क्षेत्रमा हार व्यहोरेकालाई नै उम्मेदवार बनाएको छ । यसअघि चुनावी खेलमा हारेकाहरू फेरि भिड्न उम्मेदवार बनेका छन् ।
तिनै मध्येका हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापा र नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिना ।
थापा र विष्ट दाजुभाइ जस्तै सम्बन्धमा थिए, अहिले उनीहरू एकै मैदानमा छन् । चार दशकसम्म कमल थापाको हरेक राजनीतिक निर्णयमा साथ दिएका सिंह २०७८ फागुनबाट अलग अलग कित्ताबाट राजनीति सुरु गरेका हुन् ।
राप्रपा अध्यक्षमा चुनाव हारेका थापाले राप्रपा नेपाल ब्युँताउनेतिर लागेपछि सिंहले साथ दिएनन् । त्यसको ७ महिनामै थापा र सिंह एकाअर्कासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि थापा र सिंह भिड्दैछन् । उनीहरूसँग नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।
राप्रपा नेपालका अध्यक्ष थापा एमालेकै चुनाव चिह्न लिएका छन् भने कांग्रेस सहमहामन्त्री डिनालाई सत्ता गठबन्धनको साथ छ । सिंह भने राप्रपाका उम्मेदवार हुन् । यी सबै विगतमा चुनाव हारेका व्यक्ति हुन् । उनीहरू प्रत्यक्षतर्फ हार सामना गरे पनि समानुपातिक कोटाबाट संसदीय अभ्यासमा रहदै आएका थिए ।
कमल थापाको बल
निर्वाचनको लागि उम्मेदवारी दर्ताको दुई दिन अघि नेपाल कम्युनिष्ट पार्टी एमालेले मकवानपुर प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र न १ मा रामेश्वर रानालाई दिइसकेको टिकट फिर्ता गराएर कमल थापाले हात पारे ।
जीवनको लामो समय राजतन्त्रको अस्तित्व स्थापनार्थ लागेका थापा लोकतन्त्र स्थापनार्थ आन्दोलनमा होमिएको कम्युनिष्ट पार्टी एमालेको चुनाव चिह्न लिएर चुनावी मैदानमा जान तयार भए । उनले सूर्य चिन्ह लिएर मैदानमा जाने गरी मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभामा पुग्न उनले आफैं अध्यक्ष रहेको राप्रपा नेपालको चुनाव चिह्न तीर छाडेर एमालेकै सूर्य चुनाव चिह्न लिन तयार भएपछि एमालेबाट टिकट पाएका हुन् ।
उनी अवसरको लागि अन्य पार्टीको समर्थनमा चुनाव लड्न चतुर देखिन्छन् । यसअघि थापा २०७४ को चुनावमा इन्द्रबहादुर बानियाँलाई प्रदेशसभामा झारेर नेपाली कांग्रेसको समर्थनमा चुनाव लडेका थिए ।
तर संसदीय चुनाव नफाप्ने थोरै नेतामा पर्छन् थापा । २०४८ देखि २०७० बाहेक सबै चुनाव लडेका उनले एक पटक मात्र जितेका छन् । २०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए ।
२०५१ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भए । २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडे, तर दुवैमा हारे । २०७० मा समानुपातिक पद्धतिमा बसेर संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर फेरि पराजित भए । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।
यसपटक पनि उनको सम्भावना कमजोर नै रहेको विश्लेषण सुरु भएको छ । यद्यपि यसको नतिजा मंसिर ४ पछि नै देखिने छ ।
यस्तै नेतृ हुन् नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना पनि । मकवानपुर १ मा नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार दर्ता गराएकी डिनाको पनि मकवानपुरमा चुनावी नतिजा राम्रो भएको इतिहास छैन । कांग्रेस सहमहामन्त्री समेत रहेकी डिना यसपटक सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।
उनले २०४८ सालमै प्रतिनिधिसभाको चुनाव लडेकी थिइन् । त्यतिबेला मकवानपुरका ३ क्षेत्र थियो, जसमध्ये क्षेत्र नम्बर २ मा तत्कालीन हेटौंडा नगरपालिका तथा गाविसहरू बसामाडी, पदमपोखरी, मनहरी, राक्सिराङ, काँकडा र सरिखेत क्षेत्रमा पर्थे । डिनालाई पराजित गर्दै त्यो बेला एमालेका विरोध खतिवडाले चुनाव जितेका थिए ।
२०५१ मा पनि डिना कांग्रेसबाट चुनाव लडिन् । त्यो बेलामा नेपाली कांग्रेसकै नेता विश्वराज उप्रेती विद्रोही उम्मेदवार उठेका थिए । त्यो पटक पनि एमालेका विरोधसँग पराजित भइन् । २०५६ मा चुनाव नलडेकी उनी २०६४ र २०७० मा समानुपातिकमा बसिन् । २०७४ को चुनावमा फेरि उनी प्रत्यक्ष चुनाव लडिन्, तर वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेका विरोधसँगै पराजित भइन् । यसपटक सत्ताधारी गठकन्धनको तर्फबाट उठेकी उनी आफू प्रत्यक्षमा आउँदा समानुपातिकमा अर्को महिला ल्याउन सकिने भएकोले बाटो खुला गरेको बताउँछिन् । साथ हाल उठेको क्षेत्रमा आफू पुरानो मान्छे भएकोले, भुगोलमा भिजेको कारण पनि जित पक्का भएको उनको दाबी छ । नतिजा भने हेर्न बाँकी छ ।
यस्तै चुनावी नतिजामा सकारात्मक इतिहास नभएका नेता हुन् राप्रपाका दिपक सिंह पनि । उनले पनि हालसम्म प्रत्यक्ष चुनाव जितेका छैनन् । तर गत स्थानीय तहको चुनावमा आफूप्रतिको माहौलदेखि पछि उनीमा हिम्मत झनै बढेको छ । २०५४ सालमा पहिलोपटक मेयरमा चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १२०० मतान्तरमा पराजित भएका थिए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग पराजित भएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका सिंह एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए । ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि उनी पराजित भए । तर राम्रो मतभार ल्याए ।
यस्तो छ स्थानीय निर्वाचनको अंकगणित
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा हेर्ने हो भने मकवानपुरको २ नम्बर क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ । यो क्षेत्रमा कांग्रेस एक्लैको ३४ हजार ७२ मत छ भने माओवादी केन्द्रको १६ हजार ५६२ र एकीकृत समाजवादीको ३ हजार २८३ मत छ । एमाले एक्लैको ३८ हजार ५६ मत छ भने राप्रपाको ४ हजार ७० छ ।
स्थानीय तहको परिणाम हेर्दा राप्रपाका दीपक सिंहले भने दलको भन्दा झण्डै चार गुणा बढी मत पाएका थिए । २३ हजार ७५ मत पाएर मिना मेयरमा चुनिँदा एमालेका पौडेलले २० हजार ९०८ र दीपकले २० हजार ५३१ मत पाएका थिए । मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ वडामध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा पर्दछन् ।
विगतमा चुनावी हारको सामना गरेर पनि पटक पटक मैदानमा आउने पुराना अनुहारहरूलाई यस पटक मतदाताहरूले कसरी मुल्याङ्कन गर्लान् त्यो हेर्न बाँकी छ । थापा, उपाध्याय र सिंह सबै आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा उनीहरूले स्थानीय स्तरमा गरेको योगदानलाई पनि विचार गर्नुपर्ने मतदाताहरूको जिम्मेवारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया