म निर्वाचित भएमा दुई वर्षभित्र जोरपाटी-साँखु सडकखण्ड बनाउँछु, नत्र राजीनामा दिन्छु : ओनसरी घर्ती
काठमाडौँ- सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी छन् ।
आइतबार काठमाडौँमा आयोजित काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की नेतृ घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्य सम्पन्न गराउने घोषणा गरिन् । यदी सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने उनले बताइन् ।
घर्तीले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि जिकिर गरिन् । उनले जहर्सिंपौवालाई संग्रहालयको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । नेता घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन् ।
त्यसैगरी मुलपानीमा निर्माणाधीन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उनको प्रतिबद्धता छ ।
उनले विमानस्थल निर्माणका क्रममा प्रभावितहरूको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरिन् । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया