मैले हँसिया हथौडामा भोट हालिसकेँ, फेरि पनि हाल्दैछु : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे ।
सत्तारूढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सत्तारूढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले संसद् दुईपटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरूले त्यसलाई जोगाएको पनि बताए । प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दाबी समेत गरे ।
प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया