दल

'म स्पष्ट छु, नियत सफा छ, लोभ र मोह छैन, केही गरेर देखाउनसक्छु'

म केको लागि फिट छु भन्‍ने मेरो अनुभव र विगतका गतिविधिले देखाउँछ : प्रकाशमान सिंह

इकागज |
कात्तिक २, २०७९ बुधबार १३:२९ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताए । नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए ।

देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको उनको भनाइ छ । नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्नेकुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक रहेको बताए । ‘म अधिकार प्राप्त गर्नको लागि जनआन्दोलन, सत्याग्रह, सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालिसकेको, नेविसंघदेखि लिएर नेपाली काँग्रेसको काठमाडौं जिल्ला पटकपटक नेतृत्व सभापति भएर काम गरिसकेको छु,' उनले भने, 'संगठनलाई राम्रोसँग मैले बुझेको छु । केन्द्रीय सदस्य विभिन्न पदमा बसेर काम गरेको छु । दोस्रो संविधान सभामा संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ । त्यसबेला नेपाली काँग्रेसको उपनेता पनि थिएँ । म केको लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ । अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउनसक्छु भन्ने आत्मविश्वास छ । मौका पायो भने म गरेर देखाउँछु । ’

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूविरुद्ध  धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरू खडा भए पनि स्थानीयहरूको कामका लागि आफू नै योग्य रहेको बताए । उनले स्वतन्त्र उम्मेदवारहरू अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको बताए । बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । 


नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरू पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । 


Author

थप समाचार
x