दल

नेता-कार्यकर्तालाई प्रचण्डको आह्वान - आगामी निर्वाचनलाई सामान्य रूपमा नलिनू

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार ११:३१ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्को देखापरेको बताए । 

उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरितिर फेरि धकेल्ने कसरतहरू गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे । 


अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताए । उनले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए । अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । ‘मंसिर ४ गतेको निर्वाचन एउटा समान्य निर्वाचन मात्रै हुँदै छैन । नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परेका छन्,' उनले भने, 'संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरू भए । त्यो प्रवृत्ति र विचारविरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । अहिले दुई वटा विचार र प्रवृत्ति आम्नेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमन । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका बिरुद्ध अर्को लोकतन्त्रका पक्षमा । त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।  
 


Author

थप समाचार
x