दल

घरघर पुगेर ५ वर्षे योजना माग्दैछन् सिलवाल

इकागज |
कात्तिक ७, २०७९ सोमबार १५:५४ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

२०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सिलवाल यसपटक पनि पुनः उम्मेदवार बनेसँगै घरघरमा पुगेर मतदाता भेटिरहेका हुन् । यसअघि निर्वाचित भएपछिको ५ वर्षको अवधिमा उल्लेख्य काम गर्न सफल सिलवालले आगामी दिनमा गर्नुपर्ने कामको बारेमा सुझाव समेत मागिरहेका छन् । 


निर्वाचित भएपछिको ५ वर्षको अवधिमा पनि निरन्तर आफ्नो क्षेत्रको टोल-टोलमा विकास निर्माणका योजना लिएर पुगेका सिलवाल आगामी कार्यकाललाई थप कसरी प्रभावकारी बनाउने भनेर प्रतिक्रिया माग्नमा केन्द्रित भएकाे बताउँछन् । 

'जनताका साझा समस्या समाधानका लागि हरेक वर्ष काठमाडौँ वडा नम्बर ४ ले गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत ​टोलटोलमा पुग्दै आएकाे छु,' उनले भने, 'सत्ता गठबन्धनका उम्मेदवारभन्दा चर्चित र लोकप्रिय छु जस्ताे लाग्छ, त्यसैले यसपटक पनि चुनाव जित्ने पक्का नै छ ।'

आफू चुनाव जित्ने निश्चित जस्तै भएकाे भन्दै उनले भोट माग्नभन्दा पनि आगामी कार्यकालमा गर्नुपर्ने कामको विवरण माग्न केन्द्रित भएकाे बताए ।

 

जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सिसी क्यामेरा जडान, सामुदायिक कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडा स्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव दिने गरेकाे सिलवालकाे भनाइ छ । 

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सिलवालले जनताले दिएका हरेक सुझावलाई लिखित रूपमा टिपोट गरेर योजनामा समावेश गर्ने लक्ष्य लिएकाे उल्लेख गरे । उनले स्थानीय विकासका योजनामा प्रत्यक्ष रूपमा संलग्न भइ काम गर्दै आएकाे पनि बताए ।


Author

थप समाचार
x