विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा
काठमाडौँ- विवेकशील साझा पार्टी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको जिकिर गरिन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको उल्लेख गरिन् ।
अध्यक्ष बास्कोटाले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभइ अनुभव बटुल्दै अघि बढिरहेको बताइन् । उनले विवेकशील साझाले गर्न चाहेको राजनीति मंसिर ४ पछि सकिने खालको नभइ देशको विकास र स्थिरताका लागि भएको जिकिर गरिन् ।
बास्कोटाले अहिलेका स्वतन्त्र उम्मेदवारहरू विवेकशील साझाले वि.सं.२०७४ सालमा रोपेको फल भएको बताइन् । देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुत विकासका लागि आफ्नो पार्टी सक्षम रहेको उनकाे भनाइ छ ।
पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बाः प्रविधि, जलविद्युत्, कृषि र पर्यटनको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, सरकारी वेतनधारीहरूको दलीय पेशागत संगठन खारेज गर्ने, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनैतिक भर्ती केन्द्रमा सीमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरूमा नियुक्तिका लागि ४५ वर्षे उमेरहद घटाएर युवामैत्री बनाउने, वातावरण तथा सम्पदा संरक्षण गर्ने लगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया