दल

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः बिजुक्छे

इकागज |
कात्तिक ८, २०७९ मंगलबार १७:४१ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताएका हुन् । उनले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे ।


बिजुक्छेले देशमा विकराल समस्या देखा परिरहेको पनि बताए । उनले संसारमा तेस्रो विश्व युद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने उल्लेख गरे । उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरूको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए ।

यस्तै उनले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे । उनीहरू सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उनीहरूलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजुक्छेकाे भनाइ छ ।

उनले कम्युनिष्टको नाममा सरकारमा गएका पार्टीहरूले जनताको पक्षका काम गर्न नसकेका बताए ।


Author

थप समाचार
x