जनप्रतिनिधिलाई जनताको साथ भएन भने पानी बिनाको माछा जस्तै हुन्छ : सिलवाल
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ५ (१) को प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा सिलवालले विगतमा गरेका काम प्रभावित भएको भन्दै जनताले पुनः निर्वाचित गराएर पठाउने विश्वास व्यक्त गरे ।
२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सिलवालको पहलमा वडा नम्बर ४ मा शंख पार्क, मनमोहन पार्क, धुम्बाराही पार्क, सुकेधारास्थित कृष्णगल्लीको पार्क, लम्टानिङ टुसाल पार्कलगायतका १५ वटा पार्क निर्माण भएका छन् । एउटै वडामा यति धेरै पार्क बन्नु ठूलो उपलब्धि भएकाले फेरि सिलवाललाई जिताएर बाँकी रहेका विकास निर्माणका काम गर्ने अवसर जनताले दिन चाहेको उनले बताए ।
अघिल्लो कार्यकालमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वडा नम्बर ४ को वडा कार्यसमितिको सहकार्यमा सिलवाल विकास निर्माणका काम गर्न सफल भएका थिए । पोखरेल उपप्रधानमन्त्री र वडा पनि एमालेले नै जितेकाले अघिल्लो कार्यकालमा सिलवाललाई काम गर्न सहज भएको भन्दै अहिले पनि एमालेकै उम्मेदवारलाई जिताउनुपर्ने त्यहाँका जनताको मत रहेको सिलवालकाे दाबी छ
स्वयं सिलवालले पनि वडा, प्रदेश र प्रतिनिधि सभामा एउटै दलको उम्मेदवारले जितेको अवस्थामा विकास निर्माणका काम गर्न सहज हुने अनुभव सुनाए । अहिले पनि स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षसहित टिम नै एमालेको उम्मेदवार विजयी भएका छन् । अब प्रदेश सभामा सिलवाल र प्रतिनिधि सभामा पोखरेललाई विजयी गराएर काम गर्न सहज बनाउनुपर्ने सिलवालको धारणामा जनताले ऐक्यबद्धता जनाएकाे उनकाे भनाइ छ ।
भेटघाटका क्रममा सिलवालले जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको स्मरण गराए । जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधिलाई जनताको साथ भएन भने पानी बिनाको माछा जस्तै हुने बताए ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाइ छ । सिलवालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौँ महानगरको वडा नम्बर २,४ र ५ मा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । आफ्नो निर्वाचन क्षेत्रको तीन वटै वडा एमालेले जितेकाले आफूलाई चुनाव जित्न सहज हुने सिलवालको बुझाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया