दल

रघुवीर महासेठ दम्पती : साडी र गम्छा बाँड्दै भोट माग्दै

सुभाष कर्ण |
कात्तिक १६, २०७९ बुधबार ११:१६ बजे

जनकपुरधाम- धनुषा- ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रघुवीर महासेठले आचार-संहिताविपरीत मतदातालाई साडी वितरण गरेका छन् । चुनाव प्रचार प्रसारको क्रममा मतदातालाई प्रभाव पार्न महासेठले साडी दिएका हुन् । जनकपुरधाम उपमहानगरपालिका- १९ जमुनियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले महिला मतदातालाई साडी दिएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमको बहानामा २० जनालाई पुरुष मतदातालाई गम्छा तथा महिलालाई साडी दिएर सम्मान गरेका हुन् । महासेठसँगै धनुषा–४ (क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष यादव पनि कार्यक्रममा उपस्थित थिए । यादवले भने साडी बाँडिएको कुरा अस्वीकार गरे । पार्टी प्रवेश गरेकाहरूलाई फूलमाला र गम्छा ओढाइ सम्मान मात्र गरेको उनले दाबी गरे ।


‘प्रचारमा हिँडेका कार्यकर्तालाई खाना खुवाउन हामी सकिरहेका छैनौँ । कार्यकर्ताहरू आफ्नै घरबाट खाएर चुनाव प्रचार प्रसारमा खटेका छन्,' उनले इकागजसँग भने, 'साडी कहाँबाट बाँड्नु । कार्यक्रममा सहभागी मधेश आन्दोलनका सहिद निकु यादवको आमालाई साडी दिएर सम्मान मात्र गरेका हौं ।'

त्यस्तै धनुषा- ३ प्रतिनिधि सभाकी उम्मेदवार रहेकी महासेठकी श्रीमती जुली महतोले चुनाव प्रचार प्रसारको क्रममा बालबालिकाको प्रयोग गरेकी छिन् । उनले घरदैलो कार्यक्रमको क्रममा बालबालिकालाई पार्टीको झण्डा र उम्मेदवारसहितको ब्यानर बोकाएकी छिन् । प्रदेश सभा- ३ (१) का उम्मेदवार जितेन्द्र यादवसमेत सहभागी रहेको कार्यक्रमको भिडियो टिकटकमा अहिले भाइरल नै भएको छ ।  

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहे पनि महतोले घरदैलोमा बालबालिकाको प्रयोग गरेको पाइएको हो ।

यसअघि निर्वाचन आयोगले महतोसँग दुई पटक स्पष्टीकरण सोधिसकेको छ । पहिलो पटक उम्मेदवारी दर्ताको दोश्रो दिन नै आफ्नो झण्डा, पम्प्लेपट र ब्यानर झुण्डाएको भनी र दोश्रो पटक गत शनिबार गाडीमा चुनावी फ्लेक्स टाँसेर प्रचार प्रसार गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

महासेठले निर्वाचन आचार संहिताविपरीत साडी बाँडेको बारे धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले अनभिज्ञता प्रकट गरे । 'यसबारे मलाई केही थाहा छैन,' इकागजसँग उनले भने, 'निर्वाचन आचारसंहिता अनुगमन अधिकारी डा. विरेन्द्र मिश्रसँग सोध्नुस् ।' यता अनुगमन अधिकारी मिश्रले पनि यसबारे आफूलाई केही थाहा नभएको बताए । विस्तृत बुझेर मात्र केही भन्न सक्ने उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x