दल

'नेताले आश्वासनमात्रै दिए, काम गरेनन्'

सञ्चारमन्त्री कार्कीको क्षेत्रका मतदाता भन्छन्ः जनतालाई भेडाबाख्रा बनाउने काम भयो

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार ११:३९ बजे

काठमाडौँ - सुनसरी-४ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् । सरकारका प्रवक्तासमेत रहेका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर विजयी बनेका कार्की पुनः दोहोरिने दाउमा छन् ।

उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका जगदीश कुसियैत छन् । उनी स्थानीय नेता हुन् । उनलाई जसपाको साथ छ । अर्थात् गठबन्धनका 'हेविवेट' कार्कीलाई कुसियैत चुनौती बन्ने देखिएका छन् । आम मतदाताहरू मन्त्री कार्कीको गत चुनावपछिका कामबाट सन्तुष्ट छैनन् । यसकारण पनि कार्कीलाई आसन्न निर्वाचनमा चुनौती बन्ने देखिएका छन् । 


एक लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी ४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ । त्यसैगरी इनरुवाको ३,४ र ८ नम्बर वडा पर्छ भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १,२,४,५,६ र ७ नम्बर पर्दछ । 

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवारका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइए पनि डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियैत दुवैका लागि निर्णायक सावित हुने चर्चा हुने गरेको छ । जसकारण समेत आम मतदाताले मंसिर ४ गतेको निर्वाचन रोचक हुने आँकलन गरेका छन् । 

यद्यपि मतदाता माझ पार्टीगत धारणा उम्मेदवार अनुकुल देखिए पनि पाँच वर्षे अवधिमा भएका विकास निर्माणप्रति उनीहरू खासै सन्तुष्ट भने छैनन् । स्थानीयहरू भन्छन्, 'हात्तीको समस्या ठूलो छ, गत निर्वाचनमा समस्या समाधान गर्ने आश्वासन दिए तर काम भएन । निर्वाचन जितेपछि एकपटक पनि यहाँको समस्या समाधानका लागि नेताहरू आएनन् ।'

उक्त क्षेत्रमा कोशीको मुआब्जा, आशातीत विकास निर्माण नहुनु, सञ्चारमन्त्रीको क्षेत्रमा नेटवर्क समस्याको समाधान नहुनेले जनता निराश मात्रै छैनन्, कार्कीसँग आक्रोशित पनि छन् । ‘जुन नेताहरू आए पनि हुने केही होइन, जनतालाई भेडाबाख्रा बनाउने काम भएको छ’ एक स्थानीयले भने, ‘बाढीको समस्या छ, कसैले समाधान गर्न खोजेनन्, आश्वासन मात्रै दिए । चुनावका बेला चहलपहल हुन्छ, जितेपछि कोही फर्किएर आउँदैन ।’ वाचा अनुसारको काम गर्न नसकेको र पार्टीका सीमित व्यक्ति काखी च्यापेर हिँड्ने गरेको आरोप कार्कीमाथि स्थानीयको छ । 

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की भने आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनले देशमा जनताका समृद्धि र विकासको आकांक्षालाई कार्यतालिकाको आधारमा अघि बढाउने समयको प्रारम्भ गर्ने बताउँछन् । सुनसरी ४ मा कार्की र जगदीश दुवै हेभिवेट भएकाले उनीहरू मतदाता रिझाउन प्रयासरत छन् । दुवै नेताले प्रतिस्पर्धीको तुलानामा आफूलाई अब्बल देखाउन जितको आधार खोजिरहेका छन् ।  न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x