दल

अखिल क्रान्तिकारीद्वारा निर्वाचन बहिष्कारसहित आन्दोलनका कार्यक्रम घाेषणा

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १७:५८ बजे

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ ।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णयअनुसार पार्टीहरूको आसन्न संसदीय निर्वाचनलाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक आह्वान गरेका हुन् ।


पत्रकार सम्मेलनमा बोल्दै  अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिए । उनले कात्तिक २३ गते १२ बजे काठमाडौँको शान्तिवाटीकामा चुनाव बहिष्कार सभा सञ्चालन गर्ने जानकारी दिए । उनले हरेक निर्वाचनमा सिन्डिकेट हुने गरेको र केही मुख्य पार्टीका नेताहरू प्रचण्ड, शेरबहादुर देउवा मात्र प्रधानमन्त्री बन्ने सम्भावना रहेको भन्दै ती पात्र जन्माउने व्यवस्था गल रहेको निष्कर्षसहित निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको बताए ।

उनले २०७४ को निर्वाचनपछि मुलुकलाई समाधान दिन नसकेको र देशमा महंगी, राष्ट्रघात र संकट आएको भन्दै नेपालको मुल संकटको कारण निर्वाचन भएकाले  चुनाव बिथोल्न आह्वान गरे । अध्यक्ष राईले सत्ता र व्यवस्थाको विकल्पमा संघर्षको मैदानमा उत्रिन भन्दै बहिष्कारका लागि सबैलाई आह्वान गरे ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी पनि निर्वाचन बिथोल्ने अभियानको घोषणा गरेका थिए ।


Author

थप समाचार
x