दल

ओलीलाई भीम रावलको काउन्टर : तपाईंको कहिल्यै मुख खाली छैन, फेरि खान किन मुख बाएको ?

इकागज |
कात्तिक १९, २०७९ शनिबार ९:६ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको चुनावीसभामा भीम रावलको आलोचना गरेपछि उनले जवाफ फर्काएका छन् । शुक्रबार उक्त सभामा ओलीले ०४८ सालदेखि रावलको मुख खाली नरहेको भन्दै अब उनको चिन्ता गर्न छाड्नुपर्ने बताएपछि रावलले ओलीलाई जवाफ फर्काएका हुन् ।

ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्ग भएको रावलले टिप्पणी गरेका छन् । ओलीलाई रावलले पाँच बुँदामा जवाफ फर्काएका छन् ।


'मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस्‌ भन्‍दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ' रावलले ओलीलाई प्रश्‍न गरेका छन् 'ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्‍यै 'मुख खाली छैन' र फेरि पनि 'खान'को लागि मुख किन बाउनु भएको त ?'

ओलीले रावललाई उमेरले बुढो भइसकेको बताएका थिए । त्यसलाई रावलले जवाफ फर्काएका छन् 'म ६७ वर्ष लागेकालाई 'बुढो' भन्‍ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्‍नेरी हुनु भयो ? मभन्‍दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ?'

अरुलाई पालो दिनका लागि मापदण्ड बनाएको भन्‍ने ओलीको भनाइलाई काउन्टर दिँदै रावलले प्रश्‍न गरेका छन् 'हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्‍ने किन लागू नहुने त ?

ओलीले व्यक्तिगत रुपमा आफूलाई अपमान गरेको रावलले उल्लेख गरेका छन् । 'ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको रहेछ' ओलीले प्रश्‍न गरेका छन् 'स्मरण रहोस् अछाम जिल्‍लालगायत देशका विभिन्‍न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्‌ , तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?'

'पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ' रावलले भनेका छन् ।


Author

थप समाचार
x