दल

ओनसरी घर्ती भन्छिन्- जित सुनिश्चित भइसक्यो, चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ

इकागज |
कात्तिक २१, २०७९ सोमबार १२:३० बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् । सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको बताएकी हुन् ।  प्रक्रिया पूरा गर्नमात्रै मंसिर ४ गते कुर्नुपरेको उनको भनाइ छ । 

नेतृ घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेको छ । उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार घर्तीले लोकतान्त्रिक वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन् । उनले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुची देखाएको बताइन् । 


‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौं, त्यो गर्छौं । आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ,' उनले भनिन्, 'गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छौँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् । 
 


Author

थप समाचार
x