'हामीले टक्कर दिएपछि बर्बराउँदै उटपट्याङ कुरा गरिरहेका छन्'
माधव नेपालको आरोप : निर्वाचनमा ओलीले लुट र भ्रष्टाचारको पैसा खोलो बगाए
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले ओली सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् । उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए ।
सरकार ढलेपछि अहिले ओली उटपट्याङ कुरा गरिरहेको भन्दै ओलीका उत्पट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला भएको उनको भनाइ छ । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोष र बदला पोखिरहेको बताए । उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए । नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको उनको आरोप छ । ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ । टक्कर दिएपछि अहिले केपी ओली बहुलाएको, बर्बराएको, के के उटपट्याङ कुरा गरिरहेका छन्,' उनले भने, 'यो त संकलन गर्नुपर्छ । आज उनले चुनावमा गरिरहेको खर्च हेर्नुस् त, अर्बौं अर्ब कहाँबाट ल्याए ? उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताए । आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गरेकोउनको भनाइ छ । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे । ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्यौँ । ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्यौँ,' उनले भने, 'यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ । बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ । १०० बाट सुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्याउनेछौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया