आमचुनाव २०७९
रविको चुनावी खर्च ११ लाख, उद्घाटन कार्यक्रममा नजाने, कुनै सम्मान र उपहार नलिने
फाइल तस्बिर
काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले चुनावमा ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ खर्च भएको बताएका छन् । शनिबार उनले चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
'मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ' लामिछानेले भनेका छन् 'पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब जोडिएको छैन ।'
सांसदको कार्यकालभर कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो उनले बताएका छन् । 'सबै संघ संस्थाहरूको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण भाषणहरूमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु' उनले भनेका छन् 'पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्नेछ । ती कार्यक्रमहरूमा १ घण्टाभन्दा बढि समय लगाउने छैन ।
प्रत्येक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने आफै उपस्थित हुने बताएका छन् । 'कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा नलिने बताएका छन् । अरु ग्राहकलाई झैँ समान मूल्य तिराउनु होला' उनले लेखेका छन् 'कुनै किसिमका उपहार,मायाको चिनोहरूमा एक पैसा पनि खर्च नगर्नु होला ।' औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन् ।
रवि लामिछानेको भनाइ
आदरणीय चितवन- २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरू।
आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरू सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरूलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा राखें।
१) मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब जोडिएको छैन)
२) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३) सबै संघ संस्थाहरूको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण भाषणहरूमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरूमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)
४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।
५) मिडियाहरूमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरू बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नु हुने छ।
६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।
७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरूमा एक पैसा पनि खर्च नगर्नु होला।
८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको "भन्नुहोस् के सेवा गरौ" लेखिएको बाकसमा खसाउनु होला।
१०) लामो लामो राजनीतिक छ्लफलहरू भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरूमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरूको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरूमा सहभागीहुन म खोजी खोजी आउने छु।
अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरूको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आजबाटै काममा लाग्यौं।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया