माओवादी नेता वर्षमान पुनलाई फेरि जण्डिसले सतायो, उपचारका लागि आजै चीन जाँदै
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।
नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जण्डिसको मात्रा (ब्लूरिबन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।
काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।
चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौँमा आएर आराम गरिरहेका छन् ।
माओवादीका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँटफाँट कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो । नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँटफाँट कार्यदलमा सहभागि थिए । त्यतिबेला हरेक दिन मध्यरातिसम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेका कारण उनलाई पुरानै रोगको असर देखिएको उनको सचिवालयको दाबी छ । अस्वस्थाताका बाबजुत नेता पुन सिट बाँटफाँट कार्यदलमा सक्रिय भएर लागेका थिए ।
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुनलाई गत वर्ष असोज १३ गते बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया