चार चुनावी ग्राफ : कांग्रेस-एमाले लड्दै-उठ्दै, माओवादी खस्कँदै
काठमाडौँ- शान्ति प्रक्रियापछि नेपालमा चार आमनिर्वाचन भए । यो चार निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले लड्दै–उठ्ने क्रम जारी छ । तर माओवादी भने निरन्तर खस्कँदो छ । चार चुनावमा सहभागी माओवादीले पहिलो चुनावबाहेक अरु चुनावमा सोचेजस्तो मत ल्याउन सकेन ।
माओवादी भर्खरै १० वर्षे सशस्त्र युद्धबाट आएको थियो । पुराना दलहरूबाट आशा मारेका जनता माओवादीप्रति निकै आकर्षित थिए । माओवादीप्रति आशा गरेका जनताले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई पहिलो दल बनाए ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा सबैभन्दा बढी १२० स्थानमा जित निकाल्यो । समानुपातिकमा पनि सबैभन्दा बढी ३१ लाख ४४ हजार २०४ मत ल्याएर पहिलो दल बन्यो । समानुपातिक मतबाट माओवादीले थप १०० सांसद पायो । माओवादीले थप ९ जना सांसद मनोनीत गर्न पायो । योसँगै माओवादीको सांसद संख्या १२९ पुग्यो ।
पटक–पटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेसप्रति खासै जनता आकर्षित भएनन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पुरानो दल कांग्रेसलाई जनताले दोस्रो दलमा पुर्याए । कांग्रेसले प्रत्यक्षमा ३७ सिटमा मात्र जित हासिल गर्यो । २२ लाख ६९ हजार ८८३ मत समानुपातिकमा ल्याएर कांग्रेसले ७३ सांसद पायो । थप पाँच सांसद पनि मनोनीत गर्न पाएसँगै कांग्रेसको सांसद संख्या ११५ पुग्यो ।
सरकारको नेतृत्वसँगै पटकपटक सरकारमा गएको नेकपा एमाले २०६४ सालमा तेस्रो शक्ति बन्यो । एमालेले ३३ सिटमा जित निकाल्यो । समानुपातिकमा २१ लाख ८३ हजार ३७० मत ल्याएर एमालेले थप ७० सांसद पायो । पाँच जना मनोनीत गर्न पाएपछि एमालेको सांसद संख्या १०८ पुग्यो । पहिलो संविधान सभा निर्वाचन २०६४ मा सांसदको संख्या ६०१ थियो ।
२०६४ सालमा पहिलो शक्तिका रूपमा उदाएको माओवादी २०७० सालसम्म आइपुग्दा कमजोर भयो । प्रत्यक्षमा १२० सिट जितेको माओवादी २०७० सालको निर्वाचनमा २६ सिटमा खुम्चियो । अघिल्लो चुनावभन्दा २०७० सालको चुनावमा ९४ सिट कम हो । समानुपातिकमा पनि आधाभन्दा बढी मत गुमायो ।
२०६४ सालको चुनावमा ३१ लाख ४४ हजार २०४ मत पाएको माओवादीले २०७० सालको निर्वाचनमा १४ लाख ३९ हजार ७२६ मत पायो । यो अघिल्लो निर्वाचनमा भन्दा १७ लाख ४५ हजार ७८ मत कम हो । समानुपातिक सांसद पनि १०० बाट घटेर ५४ मा आइपुग्यो । यो अघिल्लो पटकको भन्दा ४६ जना कम हो ।
मनोनीत पनि तीन जना सांसद गर्न पायो । माओवादीको सांसद संख्या ८३ मा झर्यो । यो अघिल्लो चुनावभन्दा ४६ सांसद कम हो । पहिलो शक्तिबाट तेस्रो शक्तिमा झरेपछि माओवादीले पार्टी फुटको असरका रूपमा हेर्यो । त्यसको फाइदा कांग्रेस र एमालेले लियो ।
त्यसो त २०६४ सालको चुनावमा दोस्रो शक्ति भएको कांग्रेसले प्रत्यक्षमा १०५ सिट जितेर २०७० सालको निर्वाचनमा पहिलो शक्तिका रूपमा उदायो । अघिल्लो चुनावमा भन्दा कांग्रेसले प्रत्यक्षमा ६८ सिट बढीमा जित्यो । समानुपातिकमा पनि मत बढाएर सांसद संख्या बढायो । अघिल्लो चुनावमा २२ लाख ६९ हजार ८८३ मत समानुपातिकमा ल्याएको कांग्रेसले २०७० सालको निर्वाचनमा १ लाख ४८ हजार ४८७ मत बढाएर २४ लाख १८ हजार ३७० मत पुर्यायो । समानुपातिकमा कांग्रेसले ९१ सांसद पायो । यो अघिल्लो पटकको भन्दा १८ सांसद बढी हो । त्यस्तै १० जना सांसद पनि मनोनीत गर्न पायो ।
अघिल्लो पटकको निर्वाचनमा तेस्रो शक्ति भएको नेकपा एमाले २०७० सालको निर्वाचनमा दोस्रो शक्तिका रूपमा उदायो । अघिल्लो पटक ३३ सिट जितेको एमालेले ९१ सिटमा प्रत्यक्ष चुनाव जित्यो । यो अघिल्लो चुनावभन्दा ५८ सिट बढी हो । एमालेले २०७० सालको चुनावमा समानुपातिकको मत पनि बढायो । अघिल्लो चुनावमा २१ लाख ८३ हजार ३७० मत पाएको एमालेले २०७० सालमा २२ लाख ३९ हजार ६०९ मत पायो । एमालेले समानुपातिक सांसद ८४ पायो । यो अघिल्लो चुनावभन्दा १४ सांसद बढी हो । त्यसै गरी एमालेले ९ जना मनोनीत गर्न पायो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा सांसदको संख्या ६०१ थियो ।
नयाँ संविधान जारीपछि २०७४ सालमा प्रतिनिधि सभा निर्वाचन भयो । प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० सांसद हुने भए ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादीले तेस्रो शक्ति नै कायम भयो । प्रत्यक्षमा ३६ सिट जित्यो । समानुपातिकमा मत घट्यो । अघिल्लो पटकको भन्दा १ लाख ३६ हजार ५ मत माओवादीको घट्यो । अघिल्लो चुनावमा माओवादीले १४ लाख ३९ हजार ७२६ मत पाएको थियो । समानुपातिकमा माओवादीले १७ सांसद पायो ।
त्यस्तै २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस पहिलो शक्तिबाट दोस्रो शक्तिमा झर्यो । कांग्रेस प्रत्यक्षमा २३ सिटमा विजयी भएको थियो । समानुपातिकमा अघिल्लो चुनावभन्दा मत भने बढायो । अघिल्लो चुनावमा २४ लाख १८ हजार ३७० मत पाएको कांग्रेसले ३१ लाख ७३ हजार ४९४ मत पुर्यायो । यो अघिल्लोभन्दा ७ लाख ५५ हजार १२४ मत बढी हो ।
त्यसै गरी नेकपा एमाले २०७४ सालको चुनावमा पहिलो शक्तिका रूपमा उदायो । एमालेले प्रत्यक्षमा ८० सांसद जित्यो । यो चुनावमा एमाले–माओवादीले गठबन्धन (पछि पार्टी एकता) गरेका थिए । समानुपातिकमा एमालेले मत संख्या बढायो । अघिल्लो चुनावमा २२ लाख ३९ हजार ६०९ मत पाएको एमालेले २०७४ को चुनावमा ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत अघिल्लो चुनावभन्दा ९ लाख ३३ हजार ८८५ मत बढी हो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीले तेस्रो शक्तिकै स्थान लियो । प्रत्यक्षमा १८ सांसद जित्यो । यो अघिल्लो निर्वाचनमा भन्दा १८ सांसद कम हो । माओवादी अघिल्लो चुनावमा ३६ सांसद जितेको थियो । माओवादीले समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत ल्याएको छ । समानुपातिकमा माओवादीले १४ सिट पाएको छ । माओवादीले अघिल्लो चुनावमा १४ लाख ३९ हजार ७२६ मत पाएको थियो । तर यो पटक अघिल्लोभन्दा माओवादीले २ लाख ६४ हजार ४२ मत गुमाएको छ ।
यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्तिका रूपमा फेरि उदायो । कांग्रेसले प्रत्यक्ष ५७ प्रतिनिधिसभामा जित हासिल गरेको छ । अघिल्लो चुनावमा २३ सिट जितेको कांग्रेसले यो चुनावमा २५ सिट बढी जितेको हो । समानुपातिकमा कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । कांग्रेसले अघिल्लो चुनावमा ३१ लाख २८ हजार ३८९ मत मत पाएको थियो । तर यो पटक ४ लाख १३ हजार १६४ मत गुमाएको छ ।
त्यसैगरी नेकपा एमालेले प्रत्यक्षमा ४४ सांसद जितेको छ । एमाले पहिलो शक्तिबाट दोस्रो शक्तिमा झरेको छ । अघिल्लो चुनावमा ८० सिट जितेको एमालेको यो पटक ३६ सिट कम सांसद पायो । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले समानुपातिकमा ३४ सिट पाएको छ । चुनावमा ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । अघिल्लो पटकभन्दा एमालेले ३ लाख २७ हजार ८५३ मत गुमाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया