दल

एमालेले भुसाल-साहसहितका नेताहरूलाई पार्टीबाट हटायो, पार्टीविरोधी गतिविधिमा लागेको आरोप

इकागज |
मंसिर २४, २०७९ शनिबार १७:१० बजे

काठमाडौँ- नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ । 


Author

थप समाचार
x