रास्वपामा लफडाः महामन्त्री ढकालले गुरुमालाई गुरुदक्षिणास्वरूप सांसद बनाएको कार्कीको आरोप
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय समिति सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री मुलुक ढकालले आफ्नी गुरुमालाई गुरुदक्षिण स्वरूप समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् ।
पार्टीले शनिबार चयन गरेको प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको सूचीमा आफ्नो नाम नपरेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।
महामन्त्री ढकालले पार्टीको थितिविपरीत गुरुमा र कर्मचारीलाई समानुपातिक सांसद नबनाएको भए आफू सांसद बन्ने कार्कीको दाबी छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।’
खसआर्य खुलातर्फको प्रारम्भिक निर्वाचनमा दोस्रो भए पनि पार्टीले आफूलाई सांसद नबनाएको उनले बताए । कार्कीले पार्टीभित्र थिति बसाउन सुरुदेखि नै प्रयास गरे पनि आफू असफल भएको बताए ।
उनले पार्टी परित्यागको घोषणा पनि गरेका छन् । ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिनँ । मेरो भागमा पर्ने कमजोरी स्वीकार्दै माफी चाहन्छु । तर, यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’
उनले यो आरोप निराधार नभएको पनि प्रष्टाएका छन् । कार्कीले भनेका छन्, ‘माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।’
पहिलो पटक चुनाव लडेको रास्वपाले समानुपातिक प्रणालीबाट १३ सिट जितेको छ । प्रत्यक्षबाट भने ७ सिट जितेको छ ।
यस्तो छ उनको फेसबुक पोस्ट–
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया