दल

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : प्रचण्ड

इकागज |
मंसिर २५, २०७९ आइतबार १८:१९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । 

प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । उनले भने, `माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।`


माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाए । `सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,` उनले भने, `६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।` यो निर्वाचन अपेक्षित नभएको बताएका उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको जनाए । 

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरे । 

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताए । “हामीसँग श्रम छ तर पूँजी छैन भने सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न जरुरी छ,” उनले भने, “यो कोणबाट अगाडि बढ्न सकिए सङ्गठनले जीवन्तता र गतिशीलता पाउँछ ।”

सम्पन्न बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरूबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो । 
रासस


Author

थप समाचार
x