राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल
काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमबार बूढानीलकण्ठ नगरपालिका-४ को विष्णुमती किनार करिडोर सडकको शिलान्यास गर्दै उनले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरू व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताएका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरू अघि बढाउन आफू प्रतिवद्ध रहेको उनको भनाइ थियो । ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरू व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन,' नले भने, 'राजनीतिको ठूलो तहमा पुगे पनि समाजले सम्मान गर्ने स्थिति हुँदैन ।’
नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरूलाई पूरा गर्न निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए । उनले सरकार सञ्चालन गर्ने हरेक दलहरूले एक घर, एक धाराको नीति लिए पनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । ‘बाटो, खानेपानीको समस्या धेरै छन । सरकारको नीति एक घर, एक धारा छ । काठमाडौंमा लागू हुन सकेको छैन,' उनले भने, 'हामीले यो कुरालाई प्रखर ढंगबाट अघि बढाउनु पर्छ । कर तिरेका नागरिकहरूले सुविधा पाउँ भनेर भन्नु भनेको हुन नसक्ने कुरा खोजेको होइन, तर किन सुविधा उपलब्ध हुन सकेका छैनन् । ताली बज्ने कुरामात्रै हामीले गरेर हुँदैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया