दल

काम चलाउ सरकारले यस्ता अध्यादेश ल्याउनु हुँदैनः केसी

इकागज |
मंसिर २६, २०७९ सोमबार १८:४१ बजे

काठमाडौँ- नेपाली काँग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी अध्यादेश ल्याउन नहुने बताएका छन् ।

सोमबार उनले जनताको जनादेश लिएर नयाँ संसद् निर्वाचित हुन नपाउँदै सरकारले ल्याएको अध्यादेशबारे आफूले बुझ्न नसकेको बताएका हुन् । उनले अध्यादेश किन र कति जरुरी थियो भन्ने कुरा नै सरकारले नबुझेको जिकिर गरे ।


केसीले राष्ट्रिय संकटको स्थिति र राष्ट्रमाथि नै चुनौती आउने देशको सार्वभौमता सर्वोच्चतामाथि चुनौती हो भने जुनबेला पनि सरकारले अध्यादेश सक्ने भए पनि अहिले आजीवन कारावासको सजाय भोगिरहेका व्यक्तिहरू छुटाउनका लागि अध्यादेश ल्याउनुपर्ने आवश्यकता आफूले नदेखेको उल्लेख गरे । उनले सरकारको अध्यादेशप्रति आफू गम्भीर रहेको र सरकारले किन हतार गरेको हो भन्ने विषयमा सोध्न बाँकी रहेको प्रतिक्रिया दिए ।

मंसिर २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी अध्यादेश ल्याएको छ । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ अध्यादेश ल्याएको स्पष्टीकरण दिएको छ ।

यता आम नागरिकहरू भने सरकारको यो निर्णयप्रति असन्तुष्ट बनेका छन् ।


Author

थप समाचार
x