दल

'प्रधानमन्त्री बाहेकका साझा पदहरूमा विपक्षीसँग समझदारी गर्नुपर्छ'

'गठबन्धनले ५/७ सिट जम्मा गर्दा १३८ को 'म्याजिक नम्बर' पुग्छ तर, हामीलाई पुग्दैन'

इकागज |
मंसिर २८, २०७९ बुधबार १३:२९ बजे

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरूमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको उनले बताए । संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने उनको भनाइ छ । ‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुपर्दछ । प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसाबले तय हुन्छ,' उनले भने, 'प्रधानमन्त्रीबाहेक साझा पदहरूमा विपक्षी दलको समझदारी लिन आवश्यक छ ।'

  • हामी ६ प्रतिशत मत वृद्धिको अभियानमा थियौँ तर, ६ प्रतिशत गिरावट आयो
  • एमाले उम्मेदवार हराउन सूची बनाएरै 'क्याम्पियन' चलाइयो
  • नेकपा एमाले गठबन्धन नटुटेसम्म सरकार बनाउने सोच राख्दैन
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सिट ल्याउँछ भन्ने कुनै पनि राजनीतिक दलले कल्पना गरेका थिएनन्


राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुखलगायतका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताए । रिमालले समझदारीका रूपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताए । गठबन्धनमा रहेका नेता र दलहरूले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने उनको भनाइ छ । 'राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष,  प्रदेश प्रमुख, सभामुख यी सबै चिजहरू साझा भूमिका निर्वाह गर्ने महत्वपूर्ण अंगहरू हुन्,' उनले भने, 'त्यसपछि संवैधानिक निकायका धेरै कुराहरू पनि आउँछन् । यी सबै कुराहरूमा कसरी समझदारीमा अघि बढ्ने भन्ने कुरा चाहीँ गठबन्धनमा रहेका नेता, नेपाली कांग्रेसले सोच्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सोचिएन भने अंक गणितले निर्धारण गर्ने कुरा हो गरिहाल्छ ।’

एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा एमालेका ३६ उम्मेदवारहरूलाई निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बताए । उनले ३६ जना एमालेका उम्मेदवारहरूमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए । एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भने पनि ६ प्रतिशत घटेको बताए ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताए ।

उपमहासचिव रिमालले धनुषा-२, कपिलवस्तु-२ र दाङ-२ नम्बर क्षेत्रलगायतका केही ठाउँमा अनपेक्षित नतिजा आएको बताए । ‘हामी ६ प्रतिशत मत वृद्धिको अभियानमा थयौँ । तर ६ प्रतिशत मतमा गिरावट आयो,' उनले भने, 'स्वतन्त्र पार्टीले यति धेरै मत ल्याउँछ भनेर कसैले हिसाब गरेका थिएनन् ।’

उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भए पनि अंक गणितका हिसाबले ठूलो बन्न नसकेको बताए । नेपाली कांग्रेस र नेकपा एमालेमा स्वतन्त्रताको भिन्नता रहेको बताए ।

अहिलेको गठबन्धन जनताहरूबाट अस्वीकृत भएको निर्वाचन परिणामले देखाइसकेको उनको भनाइ छ । रिमालले नयाँ सरकारका लागि कांग्रेस गठबन्धनमा रहेका कारण सहजै बहुमत बनाउने स्थितिमा रहेको बताए ।

एमालले तत्काल नयाँ सरकारका लागि पहल गर्छ भनेर सोच्नु नहुने उनको भनाइ छ । उनले गठबन्धनमा रहेका पार्टीहरू स्वतन्त्र नहुन्जेलसम्म नेकपा एमालेले सरकार बनाउनका लागि पहल नगर्ने बताए । उपमहासचिव रिमालले गठबन्धन सत्तापक्षमा रहे विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गए देशमा स्थिरता आउने बताए । असहमतिमा गठबन्धन अघि बढे राजनीति झनै अस्थिरताको चक्रमा जाने दाबी गरे । ‘जनमतको हिसाबले ठूलो पार्टी त भयौँ । तर अंकगणितको हिसाबले हामी दोस्रो ठूलो पार्टी भयौँ,' उनले भने, 'कांग्रेस ठूलो पार्टी भयो । कांग्रेस गठबन्धनमा बाँधिएको छ । कांग्रेससँगै नेकपा माओवादी र नेकपा एस पनि बाँधिएको छ । लोसपा पनि छ । यी केही पार्टी सरकार बनाउने निर्णय गर्नका लागि स्वतन्त्र छैनन् । गठबन्धनले ५/७ सिट जम्मा गर्दाखेरी उसको बहुमत पुग्छ । १३८ को म्याजिक नम्बर उसलाई पुग्छ । तर हामीलाई पुग्दैन । गठबन्धन रहेसम्म पार्टीहरू स्वतन्त्र छैनन् । पार्टी स्वतन्त्र नभएपछि अरु विकल्पमा कुरा हुँदैन । गठबन्धनभित्रका दलहरू पनि हामी जत्तिकै स्वतन्त्र भए भने सरकार गठनका लागि ३/४ वटा विकल्प रहन्छ ।'

उपमहासचिव रिमालले एमाले स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताए । गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने उनको भनाइ छ । न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित


Author

थप समाचार
x