दल

अन्तिमपटक प्रधानमन्त्री बन्‍न ओली-देउवासँग प्रचण्डको 'बार्गेनिङ'

इकागज |
पुस ३, २०७९ आइतबार १३:१ बजे

काठमाडौँ - नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा चिनिन्छन्, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । एकनासले चलिरहेको राजनीतिमा 'यूटर्न' ल्याउन सक्ने स्वभावका प्रचण्ड आफू अनुकूल राजनीति निर्माणमा हदैसम्मको तानाबाना बुन्न माहिर छन् । 

विगत पाँच वर्षमा माओवादीका कारण नेपालको राष्ट्रिय राजनीतिमा धेरै बदलाव देखियो । कारण थियो, माओवादी अध्यक्ष प्रचण्डको फेरिँदो प्रवृत्ति र प्रधानमन्त्री पदको चाहना । 


२०६५ मा पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्ड दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । उनको चाहना फेरि एकपटक प्रधानमन्त्री बनिछाड्ने छ । जसका लागि उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गरिरहेका छन् ।

तेस्रो दलको हैसियतमा विगतमा कांग्रेसको नेतृत्वमा सरकार बनेको दृष्टान्त पेश गर्दै प्रचण्डले यसपटक माओवादीको नेतृत्वमा सरकार बनाउन कांग्रेसले साथ दिनुपर्ने तर्क अघि सारिरहेका छन् । 

जुन राजनीतिक रुपमा स्वभाविक हो । तर प्रधानमन्त्री पदकै लागि पार्टी पंक्ति, जनताको जनमत र जनताको फेरिदो आकांक्षालाई कुल्चिने हो भने यो आगामी पाँच वर्षका लागि निकै घातक हुनेछ । जसको नेतृत्व प्रचण्डले गरिरहेका छन् । विगतमा प्रचण्डले राखेका ‘डबल स्टान्ड’ले निम्त्याएको राजनीतिक दुर्घटना यसपटक पनि दोहोरिएला भन्ने खतरा बढाएको छ ।

उनी नेपाली राजनीतिमा माओवादीसँगै नेतृत्वमा उदाएका हुन् । २०५२ सालमा जनयुद्ध नामको सशस्त्र द्वन्द्व गरेर निर्माण भएको माओवादी पार्टीले देशमा नयाँ संविधान, संघीयता, गणतन्त्र र समानुपातिक व्यवस्था ल्याएको दाबी गर्दै आएको छ ।

२०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो र पहिलो पार्टी बनेको माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा तेस्रो दलमा खुम्चिएको थियो । २०७४ सालको चुनावमा एमालेसँग मिलेको कारण दोस्रो बन्ने अवसर पाएको माओवादी हालैको चुनावमा फेरि तेस्रो दलमै खुम्चिनु परेको छ ।

दोस्रो संविधानसभामा तेस्रो दल बनेको माओवादी प्रचण्डको सत्ता मोह र नेता कार्यकर्ताको स्वार्थका कारण खुम्चिएको मात्रै थिएन, चुनावी परिणामको आँकलन गर्दा मुश्किलले १० वटा सिट मात्रै जित्ने गोप्य प्रक्षेपण गरिसकेको थियो ।

त्यो डरलाग्दो अवस्था देखेर प्रचण्डले नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई अघि सारेर एमालेसँग वाम गठबन्धन गराउन सफल भए । वाम गठबन्धन भनेर चुनावमा होमिएको माओवादी र एमाले त्यसपछि पार्टी एकता गर्दै नेकपामा परिणत भएका थिए ।

जुन हिसाबले पार्टी एकता भयो, त्यसले मूर्त रुप लिन सकेन । केवल स्वार्थहरूको गठजोडले गर्दा नेकपा टिक्न मात्रै सकेन, तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण सर्वोच्चको आदेशले फुट्यो पनि ।

आफूलाई प्रधानमन्त्री पद चाहिन्छ भन्ने प्रचण्ड प्रवृत्ति केही हदसम्म त्याग गर्न तयार भए पनि अर्कोलाई उचालेर राजनीतिक विभाजन ल्याउन सफल देखिए । जसकारण नेकपा मात्रै फुटेन, प्रधानमन्त्री पद बचाउन ओलीले संसद् विघटन गर्दा प्रचण्ड एमाले फूटाउन पनि सफल देखिए ।

बाहिरी परिदृश्यमा जे जति बहस र तथ्य सतहमा आए पनि सत्ता र शक्तिका लागि जस्तोसुकै ‘किचकिच’ गर्न पछाडि नपर्ने प्रचण्ड प्रवृत्तिका कारण नेपाली राजनीति दोस्रो दुर्घटनाको संघारमा छ ।

नेकपा फुटाउने, एमाले फुटाउने, त्यसअघि माओवादीलाई तीन पटक फुटाउने प्रचण्ड प्रवृत्ति कांग्रेस फुटाउने खेलमा सक्रिय रहेको चर्चा सत्ता गठबन्धनभित्रै चलिरहेको छ । 

दोहोरो स्वार्थ राख्ने र अडान लिने प्रचण्ड प्रवृत्तिले ओलीले संसद् विघटन गर्दा कांग्रेससँग मिलेर नयाँ सरकार बन्यो ।

तर एमसीसी प्रकरणमा त्यही डबल स्टयान्ड लिएर प्रचण्ड एमालेसँग काध जोड्न पुगेका थिए । तर ओलीले फेरि प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि प्रचण्ड बाध्य भएर ब्याख्यात्मक टिप्पणीका साथ कांग्रेसकै लाइनमा एमसीसी पारित गर्न तयार भएका थिए ।

ओली सरकार, एमसीसी प्रकरण, विप्लव र सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउने जस्ता घटनाक्रममा प्रचण्ड जति निर्णायक देखिन्छन्, त्यति खतरानाक पनि छन् । जसले गर्दा नेपाली राजनीतिमा स्थिरताको प्रश्न फेरि एकपटक चर्कोसँग उठ्ने सम्भावना छ ।

अनि देउवासँग प्रचण्डको नयाँ बार्गेनिङ 
ओलीसँगको वाम गठबन्धन माओवादीका लागि फाइदाजनक भए पनि प्रधानमन्त्री पद सुरक्षित नहुँदा यसपटक प्रचण्ड कांग्रेससँगको गठबन्धनबाट चुनावमा होमिए ।

तर पार्टी पंक्ति र संगठन ध्वस्त भएको माओवादीले प्रत्यक्षमा १७ सिट ल्याएको छ । जुन एक समयको पहिलो र सबैभन्दा ठूलो अनि परिवर्तनकारी शक्ति भनिने माओवादी लगभग पतनको अवस्थामा देखिन्छ ।

प्रचण्ड नेतृत्वमा रहेसम्म माओवादी पार्टी फेरि पुरानै आकारमा फर्किने सम्भावना न्युन छ । उनकै एउटै ध्येय अर्कोको काँधमा चढेर आफू ठूलो तथा शक्तिशाली बन्ने सूत्र पनि अब विस्तारै ‘फेल’ खाइरहेको छ ।

यस्तो अवस्थामा प्रचण्ड कम्तीमा अन्तिकपटक प्रधानमन्त्री बन्न देउवासँग बार्गेनिङ गरिरहेका छन् । त्यो बार्गेनिङ कतिसम्म पुगेको छ भने कांग्रेसले प्रधानमन्त्री नबनाए प्रतिगमनका मतियार भनिने एमाले अध्यक्ष ओलीसँग मिलेर आफू प्रधानमन्त्री बन्ने चेतवानी पनि प्रचण्डले देउवालाई दिइसकेका छन् ।

प्रचण्डको त्यो चेतावनीका पछाडि एमाले केही वरिष्ठ नेताहरूको समर्थन छ । प्रधानमन्त्री पदमा लठ्ठ परिहाल्ने स्वभावका प्रचण्डलाई नयाँ प्रधानमन्त्री बनाउन ओली र सिंगो एमाले तयार रहेको बचन बालकोटबाट खुमलटार पुगेको छ ।

त्यही तात्तातो ‘अफर’ पाएका प्रचण्डले शनिबार बालुवाटार पुगेर देउवालाई आफू नयाँ प्रधानमन्त्री बन्ने सूत्र सुनाइसकेका छन् । संसदीय दलको चुनावमा गगन थापाले कडा टक्कर दिइरहेका बेला देउवा प्रचण्डको कुराले झस्किएका छन् ।

कुनै पनि पार्टीलाई स्पष्ट बहुमत नहुनु र यस्तो सबैभन्दा धेरै स्वार्थ राख्ने र बाँडीचुडी मिलाएर खान तथा खुवाउन सक्ने प्रवृत्ति नै हावी हुने निश्चित हो । 

यस्तोमा ओली र देउवासँग प्रधानमन्त्री पदको बार्गेनिङ गरिरहेका प्रचण्डलाई जसले उचित पद र भागबण्डा दिएर व्यवस्थापन गर्न सक्छ, उसैको नेतृत्वमा नयाँ सरकार बन्ने परिदृश्य देखापर्दैछ ।


 


Author

थप समाचार
x