कांग्रेस संसदीय दलको चुनाव
देउवा ढुक्क, इतरलाई उम्मेदवार छान्नै सकस
काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दरखास्त हुँदैछ । उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । संसदीय दलको नेताको निर्वाचन भोलि हुनेछ । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।
कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवार बन्ने मात्रै होइन देउवा संसदीय दलको चुनाव जित्नेमा समेत ढुक्क देखिन्छन् । तर संस्थापन इतरबाट को उम्मेदवार बन्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।
इतरबाट संसदीय दलको नेतामा पार्टी नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा आकांक्षी छन् । प्रतिनिधिसभा निर्वाचनकै बेला आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै भोट मागेका थापाले आफैं दलको उम्मेदवार बन्ने बताउँदै आएका छन् । १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहेका नेता कोइराला पनि इतर पक्षको नेतृत्व गर्ने पक्षमा छन् ।
संस्थापन इतर समूहको बैठक बसिरहेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोईराबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो । हिजो दिनभर भएको सहमतिको प्रयास असफल भएपछि पुनः बैठक बसेको हो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ ।
कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया