दल

कांग्रेस संसदीय दलको चुनाव

इतर समूहलाई एकल उम्मेदवार छान्‍न सकस : शेखर–गगन दुवैको अडान कायमै

इकागज |
पुस ५, २०७९ मंगलबार ११:४२ बजे

काठमाडौँ– कांग्रेस संसदीय दलको नेताका निम्ति पार्टी सभापति शेरबहादुर देउवाइतर समूहले अझै एउटै उम्मेदवार तय गर्न सकेको छैन । देउवाइतर समूहबाट शेखर कोइराला र गगन थापा दुवैले उम्मेदवारीको अडान लिएपछि एउटै उम्मेदवार छनौट गर्न नसकेको हो । आज बिहानदेखि कोइराला र थापा दुवै होटल एम्बास्डरमा छलफल गरिरहेका एक नेताले बताए । 

गएको कांग्रेस महाधिवेशनमा पार्टी सभापतिकै प्रत्यासी हुँदै देउवाको विकल्पका रुपमा आफूलाई उभ्याएको हुँदा अबका पाँच वर्ष आफू त्यसरी नै प्रस्तुत हुनुपर्ने अडान कोइरालाले राखेका छन् । ‘गगनजीसँग सक्रिय उमेर बाँकी छ, महाधिवेशनले पनि मलाई पाँच वर्ष विकल्पमा प्रस्तुत गरिसकेको हुँदा उम्मेदवारी दिन बाध्य छु’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।


तर, गगन थापाले कांग्रेसको भविष्यका निम्ति नेतृत्व युवा पुस्तामा लैजानुपर्ने अडान राख्दै चुनावकै बखत उम्मेदवारी उद्घोष गरिसकेको जनाउँदै पछि हट्न मानेका छैनन् । उता, देउवा समूहबाट शेरबहादुर देउवा एक्लो रहने र प्रस्तावकमा सम्भवतः उपसभापति पूर्णबहादुर खड्का हुनेछन् । शेखर–गगन समूहमा चाहिँ सहमति नभए नजिकका सांसदहरूसँग छलफलका लागि  होटल बसेरामा कोइराला र थापा दुवै जाँदैछन् । 

कोइराला समूह छलफलमा सहमति जुटाएर उम्मेदवारी दिने निर्णयमा पुगेको छ । तर, थापाले निर्वाचनअगाडि नै संसदीय दलको नेतामा अफ्नो उम्मेदवारी दिने घोषणा गरेकाले पछि नहट्ने देखिन्छ । कोइरालाको पनि अफ्नै दाबी रहिआएको छ । दुईबीच सहमति हुन नसके देउवा कोइराला र थापाको उम्मेदवारी पर्ने निश्चित छ । 


Author

थप समाचार
x