दल

कांग्रेस महामन्त्री थापाको चेतावनीः अँध्यारो कोठाभित्र हुने निर्णयलाई कांग्रेसले बोक्ने छैन

इकागज |
पुस ६, २०७९ बुधबार १२:३३ बजे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार गठनको सन्दर्भमा पार्टीभित्र छलफलविनै निर्णय भए त्यसलाई आफूहरूले समर्थन नगर्ने चेतावनी दिएका छन् । बुधबार कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् ।  

सरकार गठबन्धनको सन्दर्भमा पार्टीभित्र छलफल नगरी कुनै पनि निर्णय भए त्यो व्यक्तिगत निर्णयका रुपमा दर्ज हुने उनले बताए । ‘म यो समयमा दुईटा कुरा प्रष्ट बताउन चाहन्छु । सरकार गठनका लागि संसदीय दलको नेताले नै पहल गर्ने हो । तर, कांग्रेसले गर्ने कुनै पनि निर्णय चाहे त्यो सरकारको आलोपालोको सन्दर्भमा होस् या राष्ट्रपतिको सन्दर्भमा ती निर्णयहरू पारदर्शी भएनन् भने ती व्यक्तिगत निर्णयका रुपमा दर्ज हुनेछन्,’ उनले भने, ‘त्यो कुरा म अहिले नै भन्दैछु ।’


उनले अगाडि भने, ‘बन्द वा अँध्यारो कोठाभित्र भएका निर्णयलाई नेपाली कांग्रेसले बोक्दैन । त्यतिबेला कांग्रेसले धोका दियो भनेर भन्न पाइँदैन ।’

उनी आज कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबादुर देउवासँग पराजित भएका छन् । 
 


Author

थप समाचार
x