दल

भुईंको टिप्‍न खोज्दा पोल्टाको गुमाएका गगन : संसदीय इतिहासमै कम प्रतिशत मत ल्याउने उम्मेदवार

इकागज |
पुस ७, २०७९ बिहीबार ११:२ बजे

काठमाडौँ- बुधबार भएको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सहजै जिते । देउवाका प्रतिद्वन्द्वी गगनकुमार थापाले जम्मा २५ मत मात्र पाएर हारे ।

मंगलबार बसेको शेखर कोइराला समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको पनि साथ गगनलाई थियो । शेखर समूहको बैठकमा शर्मा र पौडेलको पनि उपस्थितिले गगनले केही भोट बढाउँछन् भन्‍ने आँकलन थियो । तर भइदियो उल्टो । उक्त बैठकमा शेखर समूहको ३१ सांसद उपस्थित थिए, तर निर्वाचनमा गगनले पाए जम्मा २५ मत ।


कांग्रेस संसदीय दल ८९ सदस्यीय छ । शेखर समूहको विश्लेषण थियो- गगनले देउवा समूहका ५८ भोटमध्ये केही भोट ल्याउँछन् । तर गगनले भुइँको टिप्न खोज्‍दा पोल्टाको पनि गुमाए । भोट बढाउनु त कता हो कता उल्टै आप्‍नै समूहको भोट पनि गगनले पाएनन् ।

यसअघि प्रतिशतको आधारमा सबैभन्दा कम ल्याउने उम्मेदवार प्रकाशमान सिंह थिए । बुधबारको कांग्रेस संसदीय दलको निर्वाचनपछि इतिहासमा प्रतिशतको आधारमा सबैभन्दा कम मत ल्याउने उम्मेदवार गगन ठहरिए । 

२०५६ सालको कांग्रेस संसदीय दलको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध शेरबहादुर देउवा भिडेका थिए । कोइरालाले ६९ मत (६१.६० प्रतिशत) मत ल्याएर निर्वाचित भए भने देउवाले ४३ मत (३८.३९ प्रतिशत) मत ल्याएर हार व्यहोरे ।

त्यस्तै २०५८ सालको संसदीय निर्वाचनमा देउवा र सुशील कोइराला भिडे । उक्त निर्वाचनमा देउवाले ७२ मत (६४.२८ प्रतिशत) मत ल्याएर निर्वाचित भए भने सुशीलले ४० मत (३५.७१ प्रतिशत) मत ल्याएर पराजित बने ।

त्यसोत २०६५ सालको संसदीय निर्वाचनमा देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा थिए । पौडेलले ६१ मत (५५.४५ प्रतिशत) मत ल्याएर निर्वाचित भए भने देउवाले ४९ मत (४४.५४ प्रतिशत) मत ल्याएर पराजित बने ।

२०७० सालको संसदीय निर्वाचनमा सुशील कोइराला र देउवा चुनावी मैदानमा उत्रिए । १०५ मत (५४.१२ प्रतिशत) मत ल्याएर कोइराला विजयी भए भने देउवाले ८९ मत (४५.८७ प्रतिशत) ल्याएर पराजित बनेका थिए ।

त्यसैगरी २०७४ सालको संसदीय निर्वाचनमा देउवाविरुद्ध प्रकाशमान सिंहले उम्मेदवारी दिए । ४४ मत (६९.८४ प्रतिशत) ल्याएर देउवा विजयी हुँदा सिंहले १९ मत (३०.१५ प्रतिशत) ल्याएर पराजित भए ।

त्यस्तै २०७९ सालमा भएको संसदीय निर्वाचनमा देउवाविरुद्ध गगनले उम्मेदवार दिए । देउवाले ६४ मत (७१.९२) ल्याएर विजयी भए भने गगनले २५ मत (२८.०८ प्रतिशत) मत ल्याएर पराजित भए ।


Author

थप समाचार
x