वर्षमानले शनिबारै नै दिए देउवालाई गठबन्धनबाट माओवादी बाहिरिने जानकारी
काठमाडौँ- शनिबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानबाट पछि हटेनन् । बैठकमा कुनै सहमति हुन नसकेपछि आइतबार बिहान १० बजेका लागि फेरि बैठक बोलाइयो ।
सत्ता गठबन्धनमा कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विवाद पेचिलो बन्दै गएको छ । शनिबारको बैठकमा देउवा र प्रचण्ड दुवैले पहिलो चरणमा आफू प्रधानमन्त्री हुनुपर्ने कारण बताएका थिए । दुवै नेताको एउटै कारण थियो- 'पहिलो चरणमा प्रधानमन्त्री नभए पार्टीमा समस्या आउँछ ।' बैठकमा सहभागी एक नेताका अनुसार दुवैले पार्टीमा समस्या आउँछ मात्रै भने तर के समस्या हो त्यो भने खुलाएनन् । उनीहरूले पार्टीभित्र दबाब छ मात्रै भने ।
त्यसोत माओवादीका शीर्ष नेताहरूले कांग्रेसबाट धोका हुन लागेको आशंका गरेका छन् । चुनावअघि मात्रै होइन् चुनावपछि पनि देउवाले पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई बनाउने आश्वासन दिएको माओवादीका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार पुस २ गते देउवा र प्रचण्ड भेट हुँदा तपाईं नै पहिलो चरणको प्रधानमन्त्री भन्दै प्रचण्डलाई आश्वासन दिएका थिए । 'पुस २ गते प्रचण्ड र देउवा भेट हुँदा पहिलो चरणको प्रधानमन्त्री मन्त्री तपाईं नै हो भनेर अध्यक्ष प्रचण्डसँग भन्नु भएको थियो' ति नेताले भने 'अहिले आएर देउवा पहिलो चरणमा आफू नै प्रधानमन्त्री हुनुपर्ने अडान राख्दैछन् । देउवा पनि वचनको पक्का रहेनछन् । धोका दिन लागे ।'
प्रचण्डले देउवासँग छलफल गर्न जनार्दन शर्मा नेकपा एमालेसँग कुरा गर्न वर्षमान पुनलाई खटाएका थिए । एमालेसँग संवादमै रहेका पुनलाई शनिबार देउवासँग छलफल गर्न प्रचण्डले पठाएका थिए । पुनले छलफल गर्दा पनि देउवा लचिलो नभएको उनी निकट स्रोत बताउँछ ।
पुनले देउवालाई भनेका थिए- 'त्यतिबेला पार्टी फुट्दा हामीले तपाईंलाई कुनै सर्त नराखी सहजै प्रधानमन्त्री बनायौँ । कुनै अड्को थापेनौँ । डेढ वर्ष तपाईं प्रधानमन्त्री हुनभयो । अब पहिलो चरणमा हामीलाई छाडिदिनुहोस् ।'
देउवाले पुनलाई पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए । पार्टीभित्रबाट चर्को दबाब आएको भन्दै देउवाले पुनलाई पहिलो चरणमा आफूले लिने र दोस्रो चरणमा माओवादीलाई सहजै दिने जवाफ दिएका थिए ।
पुनले देउवालाई पहिलो चरणमा माओवादीलाई प्रधानमन्त्री नदिए गठबन्धनबाट बाहिरिने जानकारी सोही भेटमा दिएका छन् । 'तपाईंलाई हामीले कुन अवस्थामा प्रधानमन्त्री बनाएका थियौँ अझै समय छ यदी सोच्नुहुन्छ भने । आइतबार साँझ राष्ट्रपतिले दिएको समयसीमा पनि सकिन्छ । यदी पहिलो चरणमा हामीलाई प्रधानमन्त्री नदिए गठबन्धनमा रहन सक्दैनौँ । त्यसपछि कांग्रेस ठूलो दल भएकाले तपाईं प्रधानमन्त्री बन्नुहोस् । तपाईंले विश्वासको मत लिँदा हामी गठबन्धनबाट बाहिरिसकेका हुनेछौँ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया