प्रचण्डले चार घण्टामा फेरेको सत्ता समीकरण
काठमाडौँ - भनिन्छ, राजनीति सम्भावनाको खेल हो । यो भनाइ नेपालको राजनीतिमा पटक पटक चरितार्थ हुँदै आएको छ । तत्कालै निर्णय गरेर हरेक राजनीतिक घटनाक्रम आफू अनुकूल हिँडाउन माहिर पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिनभरमा जसरी चार घण्टामा नयाँ सत्ता समीकरण गर्न सफल भए, त्यसले नेपाली राजनीतिक तरंगित बनाइरहेको छ ।
अनि स्वतः पाँच वर्ष आफ्नै हातबाट सत्ता चलाउने योजना बनाएको कांग्रेसलाई मिनेटभरमै प्रतिपक्षमा धकेलेको छ । प्रचण्डका कारण नेकपा एमाले फेरि डेढ वर्षमै सरकारमा फर्किएको छ । अनि हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक गरेको प्रतिनिधि सभा विघटन पनि छायाँमा परेको छ । ओलीको प्रतिनिधि सभा विघटनका कारण एकै कित्तामा आइपुगेका कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी आज फेरि तितर–बितर भएका छन् ।
माओवादी एमालेको समर्थनमा सरकारमा जाँदैछ भने माधवकुुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी न सत्ता न सडकमा हुने अवस्थामा पुगेको छ । माओवादीसँग मिलेका कारण मुस्किलले पहिलो पार्टी बनेको कांग्रेस भने अब कम्तीमा पाँच वर्ष फेरि प्रतिपक्षमा धकेलिएको छ ।
यदि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचमा फेरि कुनै ठूलै ‘बबण्डरकारी घटना’ भएन भने कांग्रेसको पाँच वर्षे प्रतिपक्षी यात्रा गर्नेछ । प्रचण्ड फुत्किएर प्रतिपक्षी बनेको कांग्रेसमा यसले ठूलै हलचल ल्याउने निश्चित छ भने पार्टी सभापति शेरबहादुर देउवामाथिको दबाब र आलोचना दुई गुणा बढ्ने छ ।
प्रचण्डले चार घण्टामा फेरेको समीकरण
आइतबार प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा सकिँदै थियो । त्यसलाई नेपाली कांग्रेसले केवल एक समय र सामान्य सीमाका रुपमा लिएको थियो । एक महिनाको समय हुने भए पनि केवल एक हप्ताको समय दिने राष्ट्रपतिको त्यो पत्रको आशय र प्रचण्डको प्रवृत्तिबारे राम्रै भोगाई राखेका देउवाले केवल चार घण्टामा आफ्नो हातबाट सुरक्षित सत्ता नै फुत्किएला भन्ने सोचका थिएनन् ।
आइतबार बिहान १० बजे कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्यो । त्यो बैठक तीन घण्टा लम्बिँदा पनि सहमतिमा पुग्न सकेन । सबै कुरा टुंगिए पनि को पहिला प्रधानमन्त्री बन्ने ? भन्ने विषय नटुंगिदा प्रचण्ड कांग्रेसको कित्ताबाट उठेर एमालेको कित्तामा हिँडे ।
त्यतिबेला कांग्रेस नेताहरूले केवल त्यो प्रचण्डको घुर्की भएको सम्झिएका थिए । त्यसलाई उनीहरूले आफ्नो हातबाट सत्ता नै गुम्छ भन्ने सोचेका पनि थिएनन् । तर भयो त्यस्तै । साढे एक बजे आफू प्रधानमन्त्री बन्ने निश्चित नभएपछि प्रचण्ड देउवा र माधव नेपालसँगको बैठक छाडेर खुमलटार हिँडेका थिए ।
तर उनी ठीक दुई बजेपछि भने एमाले अध्यक्ष ओली निवास बालकोटमा देखिए । बालकोट पुगेको डेढ घण्टामै एमालेबाट प्रधानमन्त्री बन्ने सहमति पाएका प्रचण्डले पाँच नबज्दै शीतलनिवासमा आफ्नै नेतृत्वमा सरकार गठनको दाबी पेश गर्ने अवसर पाए ।
त्यतिबेलासम्म कांग्रेस नेता बालुवाटारमा एकले अर्कोलाई हेरेको हेर्यैँ भए । साढे एक बजे बालुवाटारबाट निस्कनु, दुई बजे बालकोट पुग्नु र पाँच बजेपछि नेपालको नयाँ ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएर सत्ता समीकरण फेर्नु कमैले सोचेको विषय थियो ।
एक बजेपछि पाँच बजेको बीचमा जति छिटो राजनीतिक घटनाक्रम बदलियो, त्यसले त्यति छिटो मूर्त रुप लियो । अनि तेस्रो पार्टी भए पनि माओवादी सरकारको नेतृत्व गर्न पुग्यो भने पहिलो पार्टी कांग्रेस प्रतिपक्षमा खुम्चियो ।
यसले नेपालको राजनीतिमा धेरै ठूलो सन्देश दिएको छ । तर शीर्ष नेताहरू सहमतिप्रति इमान्दार नहुनु, देश र जनताभन्दा आफ्नो मात्रै स्वार्थ हेर्नु र सत्ताका लागि पहिले खराब भन्ने पछि त्यसैलाई असल ठान्ने प्रवृत्तिले देशको सुशासन भने भड्खालोमा जाने निश्चित छ ।
कांग्रेसमा किचलोको डर
आफ्नै हातमा भएको सत्ता अब क्षणभरमै गुमेपछि नेपाली कांग्रेसमा किँचलो हुने निश्चित भएको छ । संसदीय दलको चुनाव जितेका देउवाले प्रधानमन्त्री बन्ने सपना पालेर त्यसलाई हठ कायम राख्दा निम्तिएको राजनीतिक घटनाक्रमले उनलाई ठूलो दबाब र किचलोको प्रमुख कारक मान्ने निश्चित छ ।
कांग्रेसमा पछिल्लो समय देउवाको विकल्पका विषयमा पर्याप्तै छलफल र बहस चलिरहेका छन् । त्यसको नेतृत्व गरेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले अब ठूलो वेगमा देउवाविरुद्ध अभियान चलाउने निश्चित छ । कांग्रेसको रुपान्तरण र पुस्तान्तरण अभियानले एक हदसम्मको सफलता हासिल गरेका बेला देउवाकै कारण निम्तिएको पछिल्लो घटनाक्रमले यसलाई थप उचाईमा लिने निश्चित छ ।
आफूभन्दा बढी आरजुलाई विश्वास गर्ने देउवाको बानी र त्यसले दिने परिणामका कारण अब कांग्रेसमा किचलोको मुख्य जिम्मेवारी कसले लिन्छ ? भन्ने प्रश्न पनि छ । एमालेसँग दुई वर्ष प्रचण्डले र त्यसपछि ओलीले प्रधानमन्त्री पद पाउने सहमति भएपछि कांग्रेसको सम्भावना कमजोर देखिन्छ । तर पनि नेपाली राजनीतिमा कसको सम्भावना कतिबेला रहन्छ ? यसै भन्न सकिन्न ।
त्यसैले पर्दा पछाडिका पात्र र प्रवृत्तिबारेमा धेरै धारणा बाहिर नआए पनि त्यो दिगो समय जान्छ वा जाँदैन भन्ने पेचिलो विषय छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया