दल

एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित : प्रवक्ता खतिवडा

इकागज |
पुस १६, २०७९ शनिबार १४:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए ।


बैठकमा पार्टी सरकारमा जाने नजानेबारे पनि छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए । सो विषयमा सबैले आआफ्नो मत राखिरहेकाले यस सन्दर्भमा पार्टीले भोलिसम्म निर्णय गर्ने उनले बताए । 

बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाललगायतको उपस्थित छ । एकीकृत समाजावावदीको यो १४ औँ स्थायी कमिटी बैठक हो ।


Author

थप समाचार
x