दल

कांग्रेस संस्थापनबाटै अर्यालमाथि चलाइएको 'खड्ग'

कार्कीले देउवालाई नै 'मिसलिड' गरे : अर्याल

बाबुराम भण्डारी |
पुस १८, २०७९ सोमबार १२:३९ बजे

विराटनगर - ‘मेरो प्रस्तावक र समर्थकमा डोल्मा तामाङ र सुनिताकुमारी गुरुङ (राम) हुनुहुन्थ्यो, डोल्मालाई पनि नेताहरूले धेरै 'प्रेसर' दिनुभएछ, दाइ (अमृत अर्याल) ले आफ्नो भोट आफैंलाई हाल्नुभएन भने पनि म जबसम्म रहन्छु उहाँलाई भोटहाल्छु भन्नुभएछ, उहाँले मलाई भोट हालेपछि मात्रै मैले पनि आफूलाई भोट हालेको हो,’ कांग्रेस केन्द्रीय सदस्य अर्यालले यो प्रसंग पुस १५ मा भएको प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा भोग्नु परेको पराजयको कारण खुलाउने क्रममा पत्रकारहरूलाई सुनाएका हुन् ।

अर्याल कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका मुख्य विश्वासपात्र भनेर चिनिन्थे । पार्टीभित्र अरुलाई जिम्मेवारी दिने विषयमा होस् या अरुको टिकट टुंग्याउने बेला, केन्द्रमा सभापति देउवासँग सीधा सम्पर्कमा रहेर प्रदेश १ का संस्थापन समूहका नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, भिष्मराज आङ्देम्बे, रमेशजंग रायमाझीलगायतका नेतासँग अर्यालले सरसल्लाह गरेकै हुन्थे । तर यसपटक उनी आफ्नै समूहबाट भित्रभित्रै घेराबन्दी परे । 


प्रतिनिधिसभा सदस्यको टिकटको दाबी त्यागेर अर्याल प्रदेश १ को मुख्यमन्त्री बन्ने आश्वासनका साथ प्रदेशसभा सदस्यको चुनाव लडेका थिए । मुख्यमन्त्रीको रुपमा अघि सारिएका अर्यालले कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनमा आफ्नै प्रस्तावक र समर्थक मध्येकै भोट नपाएपछि त्यसको सबै दोष आफ्नै समूहका नेताहरूले गर्दा भएको निष्कर्षमा पुगेका छन् । २९ सांसदले मतदान गर्दा संस्थापन समूहको जम्मा दुई भोटमात्रै अर्यालले पाए ।

प्रदेश १ मा पार्टी संस्थापन देउवा समूहका पुराना पिलर अर्यालले आफूविरुद्धको षड्यन्त्रको मुख्य नेतृत्व प्रदेश १ मा पार्टी संयोजन गर्ने जिम्मेवारी समेत पाएका अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गरेको र उनलै खड्ग चलाएको दाबी गरेका छन् ।

आफूलगायतका धेरै नेता कार्यकर्ताहरूमाथि अन्याय अत्याचार गरेको भन्दै त्यसको जिम्मा लिनुपर्ने भन्दै अर्यालले कार्कीको नाम किटान गरेका हुन् । ‘म माथि भएको अन्याय अत्याचारको जिम्मा उहाँले लिनुपर्छ, गुटबन्दीको पनि जिम्मा लिनुपर्छ’ उनले भने ।

कार्कीले नै गलत सूचनाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार डुबेको समेत अर्यालले आरोप लगाए । कार्कीले आफूमात्रै होइन, सिंगो सभापतिलाई नै डुबाएको उनको जिकिर थियो ।

कार्कीसहितका नेताहरूकै परामर्शमा आफू प्रतिनिधिसभाको दाबेदारी छाडेर प्रदेश १ को भावी मुख्यमन्त्रीका रूपमा प्रदेशसभा सदस्यको निर्वाचन लडेको बताउँदै आएका अर्यालले संसदीय दलको नेता बन्ने बेलामा कार्कीकै नेतृत्वमा राजनीतिक जीवनकै सवैभन्दा ठूलो ‘डिस्करेज’ आफूमाथि भएको गुनासो गरेका हुन् । ४६औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा शनिबार मोरङ कांग्रेसको पार्टी कार्यालयमा अर्का समूहका नेता डा. शेखर कोइरालाको दाहिनेतिर बसेको बेला पनि अर्यालले यो कुरा व्यक्त गरेका थिए ।

संस्थापन समूहका प्रदेशसभा सदस्यहरूमाथि कार्कीले नै धाकधम्की दिएर सिटौला समूहका उम्मेदवार उद्धव थापालाई भोट हाल्न बाध्य पारेको बताए । त्यसको प्रमाणका रुपमा मोबाइल कल रेकर्डलगायतका प्रमाण आफूसँग सुरक्षित रहेको उनले जानकारी दिए । 

‘मुख्यमन्त्रीको रूपमा मलाई अघि सारिएकै कारण संघ छाडेर प्रदेशमा आएर चुनाव लडेको थिए,' जनताले मलाई जिताएका पनि हुन्, तर ज्ञानेन्द्र कार्कीले पार्टीलाई नै मिसलिड गरे, यस्तो गर्न पाइँदैन, उनले पार्टी सभापतिलाई नै सही सूचना दिन नसक्दा कांग्रेस अहिलेको अवस्थामा आइपुगेको हो,’ अर्यालले भने ।

आफूले पार्टी नेताहरूकै सल्लाहमा संसदीय दलको नेतामा उम्मेदवारी दिएर अघि बढ्दा आफूलाई पराजित गर्न कार्कीले चलखेल सुरू गरेको थाहा पाएको दाबी गरे । उनले थपे, ‘हाम्रो दलमा तीन प्यानलबाट साथीहरू चुनाव जितेर आउनु भयो, प्यानलबाटै मैले दलको नेतामा उम्मेदवारी दिएर अघि बढें, तर चार दिन अघि नै मैले थाहा पाए“ कि म हार्दैछु, यसको नेतृत्व कार्कीले नै गरे ।’

अर्यालले साढे पाँच हजार मतान्तरले जसपाका जयराम यादवलाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तर पार्टीभित्र संस्थापन समूहको नेतृत्व गर्दै आएका कार्कीले बल्लतल्ल ११२ भोटले जित्नु परेको प्रसंग कोट्याउँदै प्रदेश १ मा कार्कीकै कारण पार्टी कमजोर बनेको जिकिर गरे । 

आफूविरूद्धको षडयन्त्र सुरु भइसकेको थाहा पाएपछि त्यसविरूद्ध लड्नै पर्ने निचोडमा पुगेर दलको नेतामा उम्मेदवारी दिएको अर्यालले बताए । अर्यालले आफ्नो कदमलाई ‘मसाल उठाएको’ संज्ञा दिए । उनले विशेष गरी संस्थापनभित्र सुरु भएको यस्तो प्रवृत्तिविरूद्ध देशैभरी मसाल बाल्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

‘म पनि लोकतन्त्रका लागि भएका आन्दोलनमा आठ पटक जेल परेको मान्छे हुँ, आज पार्टीको यो तहबाट ममाथि डिस्करेज गर्ने काम भयो’ उनको बुझाइ थियो ‘कांग्रेसभित्र पेलिएका सबैले अब आवाज उठाउने बेला भएको छ, यो प्रवृत्तिलाई निरूत्साहित गर्न पार्टी कार्यकर्ता तहमा पनि आग्रह गर्दछु ।’

प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलभित्र संस्थापन समूह, सिटौला समूह र कोइराला समूहमा बराबरजस्तो संख्यामा प्रदेशसभाका सांसदहरू निर्वाचित भएर आएका छन् । त्यही बराबरजस्तो संख्याभित्रबाटै दलको नेतामा आफू निर्वाचित हुनसक्ने विश्वासमा अर्याल अडिएका थिए । तर परिणाम सिटौला समूहका उद्वव थापालाई १८, कोइराला समूहका केदार कार्कीलाई ८ र अर्याललाई अपमानजनक दुई भोट प्राप्त भयो । 

समर्थक बसेकी सुनसरीकी सुनिता कुमारी गुरुङ (राम) ले नै भोट नहालेपछि अर्यालको राजनीतिक छटपटाहट तीब्र बनेको हो । गुरुङले पार्टी केन्द्रीय सदस्य विजय गच्छदार समेतको दबाबमा सिटौला समूहका उद्वव थापालाई भोट हालेको अर्याल निकटका कार्यकर्ताहरूले दाबी गरेका छन् । 

अर्याल कांग्रेस संस्थापनभित्र कमजोर पात्र होइनन् । तर उनले यसपटक संस्थापन समूहको नियन्त्रण गुमाए ।

‘स्पष्ट रुपमा भन्नुपर्छ कि हाम्रो (कांग्रेस) मा तीनवटा समूहबाट साथीहरू निर्वाचित भएर आएका थिए, सबै समूहका साथीहरू आफ्नो समूहको नियन्त्रणमै थिए, चार दिनअघि मात्रै मैले काठमाडौंमा ज्ञानेन्द्र कार्कीसँगै भेटेपछि तिमी अघि बढ भनेपछि विराटनगर आएको थिएँ’ अर्यालले भने, ‘तर पछि आएर जनताको म्याण्डेटलाई क्रस गर्ने काम भयो, मेरो पक्षबाटै म माथि निर्ममताका साथ प्रहार भयो ।’

अर्यालले आफूमाथि प्रहार सुरु भएको थाहा पाएपछि ‘अब चुनाव जित्नका लागि भन्दा पनि अन्तरघातविरुद्ध मसाल बोक्न’ चुनाव लडेको बताए । कांग्रेसभित्र कसैको दबाब आउँदैमा पछि हट्नु हुन्न भन्ने सन्देश दिन चुनाव लडेको बताए ।

अर्याल देउवा समूहकै झोला बोकेर दुई पटक मोरङको पार्टी सभापति र दुई पटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनी संसदीय मैदानमा पनि दुई पटक निर्वाचित भइसकेका छन् । यसपटक उनी प्रदेशमा उत्रिएर मुख्यमन्त्री बन्ने योजनामा रहेका अर्याल अन्ततः आफ्नै गुटको सिकार बने । पछिल्लो परिस्थितिले कांग्रेसको राजनीतिक बृत्तमा मोरङले क्रमशः नियन्त्रण गुमाउँदै गएको बताए । 

‘हामी मोरङको लिडरशिप कमजोर भयौं, केन्द्रमा हाम्रो कुरा सुनाउन सक्ने ताकत गुमाउँदै गएका छौं, हामी एकतावद्ध हुनुपर्छ भनेर मैले डाक्टर साब (डा. शेखर कोइराला) लाई सार्वजनिक रुपमा भन्ने गरेको छु, लिडरशीप लिएर अगाडि बढ्नुस् भनेको छु’ उनले थपे, ‘हिजो गिरीजाबाबुले फु गर्दा सरकार ढाल्दिनु हुन्थ्यो तर अहिले त त्यस्तो देखिएन, मोरङ एउटै भावनामा समेटिऔं ।’
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x