दल

पोलिट्ब्यूरो बैठकमा अध्यक्ष नेपालले भने :

'कसैसामु लत्रिनु परेको छैन, सत्ता गठबन्धनमा सामेल हुन सकिँदैन'

पानी माथिको ओभानो बन्‍ने काम नगर्न चेतावनी

इकागज |
पुस १८, २०७९ सोमबार १३:२० बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा अध्यक्ष नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । 

सोमबार (आज)बाट काठमाडौंमा सुरु भएको पार्टी पोलिट्ब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसै‍सामू लत्रने पक्षमा नरहेको बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप-प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो ।


अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । ‘देशको राजनीतिका आफ्नै जटिलता छन् । हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन । कसैसामु लत्रिनु परेको छैन,' उनले भने, 'हामी देशको हित र नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं । त्रुटि छन् भने हामी सच्चिन तयार छौं । पानी माथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ ।’

आजबाट सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ । 


Author

थप समाचार
x