टिप्पणी
माधव नेपाललाई दोहोरिएको संकट
काठमाडौँ - राजनीति सम्भावना खेल हो । यो जति सम्भावनाका लागि जिवित रहन्छ, त्यति नै निर्मम हुन्छ । नेपाली राजनीतिमा निर्ममता कतिसम्म पीडादायी हुन्छ भन्ने कुरा एकपटक फेरि माधव नेपालतिर नजर लगाउनुपर्छ । किनकी यतिबेला माधव नेपाल हिजो आफैँबाट धेरै गाली गरिएका केपी ओलीलाई नेता मान्दै सत्तामा, सरकारमा वा पार्टी एकतामा जानुपर्ने बाध्यतामा छन् ।
एक समय थियो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड र माधव नेपालको दोस्ती जमेको थियो । नेकपा हुँदा ओली सत्ताधारी थिए भने माधव नेपाल र प्रचण्ड प्रतिपक्षमा थिए ।
तर सर्वोच्च अदालतले नेकपा टुक्रा गरेर एमाले र माओवादीको अस्तित्व ब्युताइदियो । एमाले ब्युतिँदा ओली सबैभन्दा धेरै खुशी भए भने माधव नेपाललाई नैतिक संकट परेको थियो । पहिले जसकाविरुद्ध सडक आन्दोलन गर्नु परेको थियो, फेरि उसैका लागि पार्टीमा बस्नुपर्ने बाध्यता बन्यो ।
तर नैतिकतालाई थोरै भए पनि ख्याल गर्न माधव नेपालले ओलीसँग बस्ने मन गरेनन् । अन्ततः ओली सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गरेबापत् माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । त्यसका लागि सबैभन्दा ठूला भरोसाका पात्र थिए, प्रचण्ड ।
हिजो प्रचण्डकै कारण पार्टी फुटाएका माधव नेपालले आज फेरि प्रचण्डकै कारण एमालेसँग एकता गर्नुपर्ने अवस्थामा पुगेका छन् । कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड अचानक प्रधानमन्त्री बन्दा माधव नेपाललाई संकट दोहोरिएको हो ।
कांग्रेससँगको गठबन्धन फलदायी नभए पनि माधव नेपालको पार्टीले आत्मसम्मान जोगाएकै छ । राष्ट्रिय पार्टी हुन नसक्दाको पीडा एकातिर छ भने प्रचण्डले गर्दा फेरिएको गठबन्धनका कारण फेरि एमालेसँग मिल्नैपर्ने हो कि भन्ने बाध्यकारी पीडा अर्कातिर छ ।
ओलीको नामै सुन्न नचाहने माधव नेपालले हिजोआज आफूले निर्णय लिन नसकेपछि बारम्बार पार्टीको बैठक बसाइरहेका छन् । तर एक्लै उनले गर्न नसकेको निर्णय उनको पार्टीले पनि गरेको छैन । तर सत्य चाँहि माधव नेपालकै ब्रह्मलाई न्याय गर्ने हिसाबले तत्काल एमालेसँग एकता गर्ने विषयलाई एकीकृत समाजवादीले स्वीकार गरेको छैन ।
बाहिर ओलीले माधव नेपाललाई फेरि एमालेमा भित्र्याउने कुरालाई केवल हल्ला भनेको छ । जनमतले माधव नेपाललाई एमालेसँग एकता गर्न जनादेश दिएको छ । तीन प्रतिशत पनि थ्रेसहोल्ड कटाउन नसक्नु र राष्ट्रिय पार्टीबाट वञ्चित हुनु माधव नेपालका लागि आगामी राजनीतिक भविष्य जोखिममा पर्नु हो ।
त्यसमा पनि कांग्रेस र माओवादीको साथ हुँदा पनि माधव नेपालले आफ्नो पार्टीलाई राष्ट्रिय बनाउन नसक्नु उनको राजनीतिक क्षमता र सक्रियता अब अब्बल रहन सक्दैन । त्यसैले पनि पार्टीभित्र वा बाहिरबाट उनलाई धेरैले एमालेसँग एकता भएकै राम्रो भन्ने ठानिरहेका छन् ।
यस्तो अवस्थामा प्रचण्डका कारण उतारचढाव भइरहेको माधव नेपालको राजनीति अब अस्थिरतासँगै समापनमा जाने हो वा एमालेमा फर्किएर कुनै राजनीतिक लाभ लिने हो ? त्यो उनैको हातमा छ । तर राजनीतिमा आफ्नो एजेन्डा र जनताको मुद्दा सम्बोधन गर्नेभन्दा एक नेताले अर्को नेताको उछितो काटेर आफूलाई महान बनाउने दुष्प्रयास बारम्बार असफल हुँदै आएको छ ।
जसकारण ओलीविरुद्ध हिजोका दिनमा माधव नेपालले साँधेको रिसइबी फेरि एकपटक सतहमा मात्रै आएको छैन, माधव नेपाललाई राजनीतिक करियरमै संकट दोहोरिएको छ । हिजो ओलीविरुद्ध पार्टी फुटाउन सफल भएका माधव नेपाल आज ओलीकै नेतृत्वमा रहेको एमालेसँग फेरि एकतामा जाँदा आफ्नो असफलताको चर्चा हुने त्रासमा छन् ।
तर जे भनेपनि वर्षौ दुःख गरेर निर्माण गरेको पार्टी र त्यसैमा भविष्य खोजेका कार्यकर्तालाई केही समय आउने विचलनले लाखापाखा लाग्ने अवस्था आएपनि परिस्थिति फेरि एकताउन्मुख देखिएको छ । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा फेरि बृहत् वाम गठबन्धन बन्नेमा शंका छैन । यसले माधव नेपाल एमालेमा फर्किएको खण्डमा मात्रै वाम गठबन्धन शक्तिशाली बन्छ । अन्यथा, माधव नेपालको पार्टी प्रचण्डले खेल्ने भकुण्डो हुने सम्भावना ज्यादा छ ।
यस्तो बेला न सत्तापक्ष न प्रतिपक्ष हुनसकेका माधव नेपाललाई दोहोरिएको संकट पार कसरी लगाउने भन्ने चिन्ता हुनु स्वाभाविक मात्रै छैन, यसैमा उनको र नेकपा एकिकृत समाजवादी पार्टीको भविष्य निर्भर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया