जसपा राजनीतिक समिति बैठक
सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाकाे निर्णय
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।
मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरूको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो । राजनीतिक समितिमा सरकारमा जाने/नजाने विषयमा सदस्यहरूको मत बाझिएको थियो ।
तर, बहुसंख्यक सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।
बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धन सम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले बताए ।
बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । चुनावमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरूलाई भने सम्बन्धित समितिले विधान अनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।
यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया