दल

नेकपा एसले वामपन्थी एकताको अगुवाइ गर्ने, चार सदस्यीय समिति गठन

इकागज |
पुस २१, २०७९ बिहीबार १५:५७ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी एकताका लागि अगुवाइ गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टीले वाम एकताका लागि विभिन्न ढंगले पहल गर्नेछ र त्यसको अगुवाइ पनि हाम्रौ पार्टीले गर्नेछ ।’


एकताका लागि उसले चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव वेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला रहेका छन् । 

आजको सचिवालय बैठकको मुख्य अजेण्डा सरकारमा सहभागी हुने वा नहुने विषयमा टुंगो लगाउने थियो । तर, बैठकले निर्णय गर्न सकेन । प्रवक्ता खतिवडाले आफ्नो पार्टीलाई कसैले विश्वासको मत नै नमागेको जिकिर गरेका छन् । 

तपाईंहरूले सरकारलाई विश्वासको मत दिनुहुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकारले हाम्रो समर्थन मागेको छ कि छैन भन्ने नै हामीलाई थाहा छैन ।’

उनले बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेट पार्टीगत नभइ व्यक्तिगत भएको जिकिर गरेका छन् । ‘त्यो उहाँहरूको निजी भेट हो । पार्टीपार्टी बीचको होइन,’ उनले भने । 

सरकारमा जाने/नजाने विषयमा निर्णय गर्न नेकपा एसको स्थायी कमिटी र पोलिटब्युरो बैठक पनि बसेका थिए । तर, यी दुवैले पनि यस विषयमा किनारा लगाउन सकेनन् ।
 


Author

थप समाचार
x