दल

काँग्रेसका प्रमुख सचेतक लेखककाे प्रष्टाेक्ति : हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ

इकागज |
पुस २२, २०७९ शुक्रबार १७:३४ बजे

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट्याएका हुन् । उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहोर्‍याए ।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिए । आफूहरू अहिले पार्टी संसदीय दलको भोलि (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने छन् । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताए ।


Author

थप समाचार
x