प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता
फाइल फोटो
काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा दुई पार्टीबीचको एकता, यही पुस २६ गते सरकारलाई विश्वसको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा)का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ ।
सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका डा भट्टराईले विसं २०७२ को ९ असोजमा माओवादी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष बनेका छन् । नेसपाले ४ मङ्सिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो ।
आज भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ । नेसपाले भने आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया