नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने
काठमाडौँ- नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताए । सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनले स्पष्ट पारे ।
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ ।
सह–अध्यक्ष श्रेष्ठले बैठक सोमबार(भोलि) सम्म चल्ने जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया