दल

सरकारलाई विश्वासको मत दिनेबारे के भन्छन् कांग्रेस सांसदहरू ?

इकागज |
पुस २६, २०७९ मंगलबार १२:३५ बजे

काठमाडौँ - सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरूबीच मत बाँझिएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गरिरहँदा सांसदहरूले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका छन् । 

पार्टी संसदीय दलको बैठक बस्नु अघि मंगलबार संघीय संसद् भवन परिसरमा पुगेका नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताए । स्थानीय तहमा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने उनको भनाइ छ । ‘मेरो व्यक्तिगत धारण भन्नहुन्छ भने अहिलेको सरकारको नेतृत्व र कांग्रेस लामो समय गठबन्धनमा सहकार्य गर्दै आएका राजनीतिक पार्टीहरू हुन । बिचमा तितरवितर भए पनि फेरि सँगै जाने कुरा उठ्न थालेको हो,' उनले भने, 'एमाले-माओवादी मिलेर बनाएको सरकारलाई कांग्रेसले समर्थन जनाएछ वा विश्वासको मत दिएछ भने पनि आश्चर्य मान्नुपर्ने छैन । ठूलो दलको हैसियतले लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिका धेरै महत्वपूर्ण हुन्छ । बलियो प्रतिपक्ष भएन भने राम्रो पनि हुँदैन । त्यसकारण प्रतिपक्षमा बसेछ भन्ने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।’


अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गरे। उनले प्रतिपक्षमै बसेर कांग्रेसले काम गर्दा उपयुक्त हुने दाबी समेत गरे । ‘हामीलाई हिजो धोका दिएकै हो । हामीले अहिले पनि धोका दिएका छैनौं,' उनले भने, 'हामी सहमतिको राजनीतिमा सबैलाई लिएर जान तयार छौं । तर सधैं धोकाको राजनीतिमा विश्वास गरेर हुँदैन । अहिले हामीले प्रमुख प्रतिपक्षकै रुपमा काम गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।’

कांग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ । उनले विपक्षमै बसेर अघि बढदा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताए । ‘वर्तमान सत्ता गठबन्धनमा गएर मिल्दा प्रतिपक्षको शून्यताको समस्या पनि सृजना गर्न सक्छ । हामीले एउटा राजनीतिक सन्तुलन मिलाएर निर्णय लिने हो,' उनले भने, 'विपक्षमै बस्ने सम्भावना पनि छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा छन् भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका छन् । 


Author

थप समाचार
x