दल

'पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न सक्दैन'

इकागज |
माघ २, २०७९ सोमबार १७:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चुनावमा काठमाडौं उपत्यकामा विवेकशील साझाका नाममा लहड सुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको भन्दै आज पनि नयाँ-नयाँ प्रयोग गरिएको र पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएकाले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।


पोखरेलले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पष्ट भएको शक्ति आवश्यक रहेको धारणा राखे । त्यस्तै उनले धेरै राष्ट्रिय दलहरू भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गरे ।

दुनियाँमा कही पनि राजनीतिक दलहरू मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रकिरण अपरिहार्य हुने तर्क गरे ।

महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरू हुने गरेको पनि बताए । संसद् विघटन कांग्रेसले गर्दा अदालत नबोल्ने र वामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उनको भनाइ छ ।

महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताए । कार्यक्रममा उनले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिए । 


Author

थप समाचार
x