टुंगियो मन्त्रालय भागवण्डा : कुन दलले कुन मन्त्रालय पाए ? (सूचीसहित)
काठमाडौँ- सत्तारुढ दलहरुले मन्त्रालयहरुको भागवण्डा टुंगो लगाएका छन् । सोमबार रातिसम्म बसेको सत्तारुढ दलको उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा टुंगो लगाएका हुन् ।
भागवण्डा टुंगो लगाउनुअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेपछि भागवण्डा टुंग्याएका हुन् ।
भागवण्डाअनुसार नेकपा एमालेले ८ मन्त्रालय, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३, जनता समाजवादी पार्टी जसपाले २ र जनमत पार्टीले एक मन्त्रालय पाउने सहमति भएको माओवादी निकट एक नेताले इकागजलाई जानकारी दिए ।
अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय एमालेले पाउने सहमति भएको छ । त्यस्तै भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन माओवादीले पाउने सहमति गरिएको छ । गृह, शिक्षा र श्रम रास्वपाले पाउने ति नेताले बताए । उर्जा, खानेपानी र युवा तथा खेलकुद राप्रपाले पाउनेगरी भागवण्डा टंगिएको छ । त्यसैगरी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने सहमति भएको छ ।
तर जसपा भने उपराष्ट्रपति नपाउँदा रुष्ट बनेको छ । उपराष्ट्रपति नपाउँदा रुष्ट बनेको जसपा सरकारमा सहभागी हुने सम्भावना कम छ । जसपा मिलाउनका लागि सहमति गरिएका केही मन्त्रालयहरू हेरफेर हुनसक्ने ति नेताले बताए । अन्य मन्त्रालय जसपा र लोसपालाई सरकारमा सहभागी गराउनका लागि छुट्याइएको छ । उनीहरू सहभागी नभएमा माओवादी र एमालेले पाउने गरी सहमति गरिएको छ ।
त्यसैगरी माओवादीले एक राज्यमन्त्री, रास्वपा एक राज्यमन्त्री र राप्रपा एक राज्यमन्त्री पनि पाउने सहमति गरिएको छ ।
राष्ट्रपति र सभामुख एमालेलाई, उपराष्ट्रपति माओवादीलाई
पूर्वसहमति अनुसार एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ । सभामुखमा भने एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा एमालेबाट सभामुख र ओली प्रधानमन्त्री हुँदा माओवादीको सभामुख हुने सहमति जुटेको छ ।
त्यस्तै उपराष्ट्रपति माओवादीले पाएको छ । उपसभामुख भने रास्वपाले पाएको छ ।
नयाँ मन्त्रीहरूको सपथ आज दिउँसो हुने गृहमन्त्री रवि लामिछानेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया