दल

क्याबिनेटमा सहभागी हुनेबारे टुंगो लगाउन बैठक बस्‍दै

मन्त्रालय बाडफाँटप्रति जसपा असन्तुष्ट

इकागज |
माघ ३, २०७९ मंगलबार ११:१८ बजे

काठमाडौं– सोमबार राति अबेरसम्म उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागबण्डाप्रति जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ । 

प्रतिनिधिसभामा १२ सांसद रहेको जसपालाई सत्ता गठबन्धनका शीर्ष नेताहरूले दुई मन्त्रालय लिन आग्रह गरेका थिए । तर, जसपाले त्यसलाई अस्वीकार गरेको छ । जसपा स्रोतका अनुसार उसले तीन मन्त्रीसहित उपराष्ट्रपति मागिरहेको छ । उपराष्ट्रपति माओवादी उसलाई दिने पक्षमा छैन । 


तर, जसपा प्रवक्ता मनिष सुमन भने यसलाई अस्वीकार गर्छन् । सुमन आफूहरूले यो वा त्यो मन्त्रालय दाबी नगरेको बताउँछन् । ‘हाम्रो पुस १८ र १९ गते बसेको बैठकले दुईटा निर्णय गरेको थियो– शक्ति सन्तुलनमा सामीप्यता र न्यूनतम साझा कार्यक्रममा समानता भयो भने मात्र हामी सरकारमा सहभागी हुन्छौँ,’ इकागजसँग उनले भने, ‘न्यूनतम साझा कार्यक्रम समानता भेट्यौँ, त्यसैले सहमति जनायौँ । तर, शक्ति बाडफाँटमा चाहिँ सन्तुलन देखिएन ।’

उनले ती दुई निर्णय जसपाले आफ्नो पार्टीको हितको लागि मात्र नभएर, सबै पार्टीको हितको लागि भएको जिकिर गर्दै भने, ‘सबै दललाई समान तरिकाले मन्त्रालय दिइनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रवक्ता सुमनले जसपाले सरकारमा सहभागी नहुने अडान नलिएको पनि प्रस्ट्याए । ‘सरकारमा त हामी छँदौ छौँ । कुरा क्याबिनेटमा सहभागी हुने नहुने कुरा मात्र हो,’ उनले भने ।

क्याबिनेटमा सहभागी हुने विषयमा पनि वार्ताबाटै सहमति हुने उनले दाबी गरे । त्यसका लागि आफूहरू छलफल गरेर आजै सहमति गर्ने प्रयासमा रहेको उनको भनाइ छ । 

क्याबिनेटमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन जसपाले आज दिउँसो २ बजे पार्टी कार्यालय कार्यकारिणी बैठक डोकेको छ ।
 


Author

थप समाचार
x