पाँचौँ प्रयासमा सांसद चुनिएका सिंह बने ऊर्जा राज्यमन्त्री
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपकबादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् । मन्त्री सिंहले मंगलबार दिउँसो ऊर्जा राज्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पहिलो प्रयासमै मन्त्री बनेका उनी सांसद भने पाँचौँ प्रयासमा भएका थिए । उनी गत निर्वाचनमा मनवानपुर–१ बाट २७ हजार ८१६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी पहिलोपटक २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । त्यतिबेला उनी नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए । त्यसपछि उनले २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट लडे । उक्त निर्वाचनमा पनि उनी सफल हुन सकेनन् । उनले एमालेका अनन्तप्रसाद पौडेलसँग हार व्यहोर्नुपर्याे ।
मन्त्री सिंह दुईपल्ट मेयरका प्रत्यासी पनि भएका थिए । खासमा उनको चुनावी यात्रा नै मेयरका लागि उम्मेदवार बनेर सुरु भएको थियो । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा हेटौँडा नगरपालिकाको प्रमुखको उम्मेदवार बने तर उनी त्यतिबेला एमालेका उम्मेदवारसँग पराजित भए ।
सिंह गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह चुनावमा पनि उत्रिएका थिए । तर, उनको मेयरका लागि दोस्रोपटकको प्रयास पनि निरर्थक भयो । उनी २० हजार ५ सय ३१ मतसहित तेस्रो भए ।
तर, पाँचौँ प्रयासमा भने उनी सफल भएका थिए । उनकाे जितले राप्रपा २८ वर्षपछि मकवानपुरमा पुनरागमन भएको थियाे । राप्रपाले मकवानपुरमा २०५१ यता जित्न सकेको थिएन । उक्त निर्वाचनमा कमल थापा विजयी भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया